५ जेष्ठ २०८१, शनिबार

विद्यालय बन्द नगरौं, शिक्षा विधेयकमा रहेका कमजोरी सच्याउन तयार छौं : गगन थापा

प्रकाशित मिति :  21 September, 2023 12:16 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा विधेयकका रहेका कमजोरी सच्याउन तयार रहेको बताएका छन्। विद्यालय शिक्षासम्बन्धी विधेयकमा रहेका कमजोरीहरू संसदबाटै सुधार्ने प्रतिबद्धता जनाएका छन् ।

थापाले सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा आग्रह गरेका छन् ।

संघीय राजधानी काठमाडौंमा दुई दिनदेखि देशभरका शिक्षकहरुको आन्दोलन चर्किएपछि सत्तारुढ दलका नेता थापाले यस्तो बताएका हुन्।

प्रस्तावित विधेयकले सरकारको मनसायको प्रस्ताव मात्रै भएको हुनाले अब संसदमा घनिभूत छलफल गरेर सरोकारवाला सबैको कुरा सुनेर संसोधन र परिमार्जन गरिने थापाले बताए ।

उनले भने ‘विधेयक अब संसदमा आएको छ । अब हामी विधायकहरूले यसमा काम गर्ने हो र सबैको मनसायको कानुन बनाउने हो । हामी सबै सरोकारवालाको कुरा सुन्छौँ। यो विधेयक ऐन बन्दा यसमा धेरै परिमार्जन संशोधन हुने नै छन्‌, संशोधन गर्नै पर्ने विषय छन्‌।’

‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ’, उनले भनेका छन्, ‘विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीलाई संसद्‍बाट सच्याउन सकिन्छ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो।’

थापाले आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवम् विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध रहेको बताए ।

शिक्षकहरु आन्दोलित भएपछि बिहीबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन पनि ठप्प भएको छ।



प्रतिक्रिया दिनुहोस !