५ जेष्ठ २०८१, शनिबार

नेपालको परराष्ट्र नीतिमा साझा सहमति गरौँ : माधव नेपाल

प्रकाशित मिति :  22 September, 2023 5:29 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समितिबाट यसअघि नै परराष्ट्र नीतिको मस्यौदा पास भइसकेको र अहिले आवश्यक भए पुनः छलफल गरी सबै दलबिच साझा सहमति बनाउनुपर्नेमा जोड दिए ।

उनले दलहरूबिच देशभित्र आन्तरिक द्वन्द्व भए पनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने बताए । उनले राष्ट्रिय सुरक्षा नीतिबारे पनि साझा सहमति बनाउनुपर्ने बताए ।

‘हामीले दुईवटा कुराहरू दस्ताबेजहरू पास गरेका थियौँ । एउटा परराष्ट्र नीतिको बारेमा थियो । त्यसलाई पुनः हेर्नुपर्नेछ भने हेरौँ । त्यसको कार्यान्वयनमा जोड दिऔँ । सबै पार्टीको बीचमा साझा सहमति बनाएर राष्ट्रिय हाम्रो प्रतिबद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्छ किनभने भारतमा भित्र आन्तरिक द्वन्द्व हुन्छ तर परराष्ट्र नीतिमा सबै एक हुन्छन् । त्यस्तै स्थिति नेपालमा सिर्जना गर्नुपर्छ‚’ उनले भने, ‘त्यस्तै राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि हामीले अघि बढाउनुपर्छ । म प्रधानमन्त्री भएको बेलामा तयार भएको थियो । त्यसमा पनि राष्ट्रिय सहमति बनाऔं ।’

समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले पनि परराष्ट्र नीति साझा सहमति हुन आवश्यक रहेको बताए । उनले भारत, चीन, अमेरिका, बेलायतलगायतका देशबाट आइरहेको डेलिगेसनमा अपडेट हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !