५ जेष्ठ २०८१, शनिबार

विश्व,विद्यालय दुध दिवसको अवसरमा कविता प्रतियोगिता हुने

प्रकाशित मिति :  22 September, 2023 6:10 pm


काठमाडाैँ । नेपाल डेरी एसोसिएसनले ९ औं विश्व, विद्यालय दुध दिवसको अवसरमा विद्यालय तहमा खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान (डिडिसी), केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) को संयुक्त सहकार्यमा नेपाल डेरी एसोसियसनले कविता प्रतियोगिता गर्न लागेको हो ।

कक्षा ३ देखि १० सम्मका विद्यार्थीबिच खुल्ला कविता प्रतियोगिता गरिने नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिए ।

यस्ता कार्यक्रमले बालबालिकाको चौतर्फी विकासका लागि सहयोग पुग्नुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गराउन सहयोग पुग्ने कुरा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको भनाई छ ।

कार्यक्रमले बालबालिकालाई दुध तथा दुग्ध पदार्थबारे जानकारी हुने एसोसिएसनको विश्वास छ ।

विद्यालय तहका विद्यार्थीहरुका लागि दूध तथा दुग्ध पदार्थको महत्वबारे जानकारी गराउने प्रतियोगिता आयोजना गरिएकाले प्रतियोगितामा सहभागी हुन नेपाल डेरी एसोसिएसनले अनुरोध गरेको छ ।

एसोसिएसनले आफ्ना मातहतका सवै स्थानीय तह, जिल्ला र प्रदेश समितिलाई विभिन्न कार्यक्रम गरि विश्व विद्यालय दुध दिवस मनाउन निर्देशन गरिसकिएको जानकारी एसोसिएसनका केन्द्रीय सदस्य एवं यो कार्यक्रमका संयोजक शिव घिमिरेले जानकारी गराए ।

विश्व विद्यालय दुध दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्व भर मनाइन्छ ।

यो दिन विश्वमा कुनै पनि स्कुल बन्द हुँदैनन् भन्ने मान्यता छ । सबै बालबालिकाहरुलाई दुधको महत्व बुझाइ दुध तथा दुग्ध पदार्थबाट कोहि पनि बन्चित नहोस् भनि यो विश्व विद्यालय दुध दिवस मनाउन शुरु गरिएको पाइन्छ ।

यो वर्ष सेप्टेम्बर महिनाको २७ तारिखमा यो दिवस परेको छ । विश्व विद्यालय दुग्ध दिवस पहिलो पटक विश्व स्वास्थ संगठनले सेप्टेम्बर महिना सन् २००० बाट मनाउन शुरु गरेको थियो । अहिले वार्षिक कार्यक्रमको रूपमा यसले विश्वव्यापी मान्यता प्राप्त गरेको छ ।

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेका अनुसार नेपालमा २०७२ सालदेखि नेपाल डेरी एसोसिएसनले पहिलो बिश्व स्कुल दुध दिवस काभ्रेको पाँचखालमा रहेको श्री गणेश माध्यामिक बिद्यालयबाट शुरु गरि अहिलेसम्म हरेक वर्ष मनाउँदै आइरहेको छ ।

हाल सबै सरोकारवाला निकायहरु मिलेर विश्व विद्यालय दुध दिवस मनाइने गरिएको छ । यस वर्षको कार्यक्रम निम्नानुसार रहेको जानकारी एसोसिएसनले गराएको छ ।

प्रतियोगितासम्बन्धी जानकारीः
१. कविताको विषय दुध, मोही, खीर, पनिर जस्ता दुग्ध जन्य बस्तुसँग सम्बन्धित हुनुपर्ने छ ।
२. समय ५ मिनेटको रहने छ ।
३. निर्णायकको निर्णय अन्तिम हुने छ ।
४. प्रतियोगितामा विजयी ५ जनालाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।
५. सहभागीलाई खाजाको व्यवस्था हुने छ ।
६. दर्ता गर्दा कुनै शुल्क लाग्ने छैन ।
७. एउटा विद्यालयबाट बढिमा दुईजना विद्यार्थीले भाग लिन सक्ने छन् ।
८. २०८० असोज ८ गतेसम्म विद्यार्थीको नाम दर्ता गरिसक्नुपर्ने छ ।
९. अन्य थप केही जानकारी चाहिएमा ९८५१०९५१२७ मा कल गरि जानकारी लिन सक्नु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !