७ जेष्ठ २०८१, सोमबार

अलपत्र परेकाको उद्धार भैसकेको सरकारको निष्कर्ष,यात्रुबाहक गाडी पूर्ण रुपमा रोक लगाउने निर्णय

प्रकाशित मिति :  27 April, 2020 1:48 pm


फाईल फोटो

काठमाण्डौं, १५ बैशाख ।

गृहमन्त्रालयले लकडाउनलाई थप कडा पार्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै अनुमतिपत्र विनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

बीचबाटोमा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको निष्कर्ष छ ।

अब मन्त्रालयले आजदेखि अनुमतिपत्र विनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो । विभिन्न ठाँउमा अलपत्र परेका मजदुरहरुको उद्धारका लागि यात्रुबाहक बस सञ्चालनमा केही खुकुलो पारेपनि अब पूर्ण रुपमा रोक लगाउन गृहमन्त्रालयले मातहतका निकायमा परिपत्र गरेको छ ।

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड-१९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

लकडाउनलाई सरकारले वैशाख २५ गतेसम्म लम्ब्याएको छ । अहिलेसम्म मुलुकमा ५२ जनामा कोभिड– १९ सङ्क्रमण पुष्टि भइसकेको छ । जसमा १६ जना निको भएर घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !