इजरायलबाट फर्किन चाहनेलाई तत्काल उद्धार गर्न सरकारलाई राष्ट्रियसभा अध्यक्षको आग्रह
प्रकाशित मिति : 9 October, 2023 1:12 pm
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सोमबार शोक विज्ञप्ति जारी गरी अध्यक्ष तिमिल्सिनाले विद्यार्थीको निधन भएको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । उनले नेपाल फर्किन चाहने अन्यलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेका छन् ।
‘घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ इजरायलमा रहेका नेपालीको उद्धार, राहत र नेपाल फर्किन चाहनेलाई शीघ्र स्वदेश फर्काउने सम्पूर्ण व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष विशेष अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष तिमिल्सिनाले शोकको घडीमा दिवङ्गतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।








