५ जेष्ठ २०८१, शनिबार

देशलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिको सरकार बनाऔँः उपमहासचिव शर्मा

प्रकाशित मिति :  18 October, 2023 4:34 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

बुधवार नेकपा(माओवादी केन्द्र) काठमाडौँ महानगर कमिटी वडा नम्बर १६ ले दसैँको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् । उनले पार्टीहरूका बिचमा प्रतिस्पर्धामा चुनाव गर्नुपर्ने र चुनावपछि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए ।

उनले सरकारको नेतृत्व भाग लगाएर लिने गर्नाले सरकारको काममा गति नआएको बताए । दलहरूका बिचमा आपसी गालीगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्ने बताए । सहमतिको सरकार बनाउन सकेमा मात्रै ठुलो परियोजनाका काम गर्न सकिने र देशलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ ।

उपमहासचिव शर्माले माओवादी केन्द्र आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने बताए । उनले माओवादी केन्द्र एक्लै चुनाव लड्ने स्पष्ट पारे ।

उनले भने, ‘हाम्रो पार्टी कसैसँग गठबन्धन गरेर चुनाव लड्दैन । हामी एक्लै लड्छौँ । एक्लै प्रतिस्पर्धा गर्छौ र एक्लै प्रतिस्पर्धा गर्ने हैसियत हाम्रो पार्टीको बनाउने योजना छ । कसैसँग मिल्दैनौँ । यो प्रतिबद्धता हो । सङ्कल्प हो । यो कुरालाई म स्पष्ट गर्न चाहन्छु ।’

उनले प्रदेश सरकारलाई छिटो भन्दा छिटो अधिकार हस्तान्तरण गरेर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताए । उनले स्थानीय सरकारलाई पनि साधन, स्रोत थप गरेर अझै बलियो बनाउनुपर्ने बताए ।

उपमहासचिव शर्माले प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ५ सदस्यीय मात्र मन्त्रिमण्डल बनाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !