३ जेष्ठ २०८१, बिहिबार

सीजी ब्रुअरीको घटनाप्रति सीएनआईको बिरोध, वार्तामार्फत् समस्या समाधान गर्न आव्हान

प्रकाशित मिति :  19 October, 2023 9:08 pm


काठमाडौँ । सीजी ब्रुअरी नेपाल लिमिटेडको व्यवस्थापनका कर्मचारीमाथि भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघ (सीएनआई) ले विरोध जनाएको छ।

कम्पनीले उपलब्ध गराउने बोनस लगायतको सुविधा विषयमा बिवाद हुँदा सीजी ब्रुअरीका कर्मचारीमाथि कर्मचारीले बुधवार हातपात गरेका थिए। 

“अधिकारीहरुमाथि कुटपिट गर्ने, ढुंगामुडा गर्ने, कार्यालय तोडफोड गर्नेजस्ता अराजक गतिविधि नगर्न÷नगराउन परिसंघ आग्रह गर्दछ,” सीएनआईले बिहीवार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “सी।जी। ब्रुअरीका कर्मचारीमाथि सांघातिक आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्न समेत परिसंघ माग गर्दछ ।” 

कतिपय उद्योग व्यवसायहरु बन्द भईसकेका छन् भने कतिपय बन्द गर्नुपर्ने अवस्थामा पुगेको र समग्र बजार मागमा ७० प्रतिशतसम्म कमी आउँदा उद्योगहरु आफ्नो अस्तित्व रक्षाका लागि संघर्षरत रहीरहेको अवस्थामा यस्ता घटनाले हतोत्साहित हुने सीएनआईको भनाइ छ। 

विज्ञप्तिमा भनिएको छ, “चुनौतीपूर्ण अवस्थाका बाबजुद न्यून क्षमतामा भएपनि उद्योग संचालन गरिरहेको अवस्थामा कर्मचारीमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधिले कसैलाई फाइदा नगर्नेतर्फ सचेत बन्न परिसंघ अनुरोध गर्दछ ।”

कुटपिट गर्ने, ढुंगामुडा गर्ने, कार्यालय तोडफोड गर्नेजस्ता अराजक गतिविधि नगर्न÷नगराउन विज्ञप्तिमार्फत् आग्रह गरिएको छ। सांघातिक आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्न समेत माग गरिएको छ।  

विज्ञप्तिमा भनिएको छ, “यस्ता गतिविधिहरुलाई निरुत्साहित गरी असल औद्योगिक सम्बन्ध सुनिश्चित गर्न सबै ट्रेड यूनियनहरुलाई समेत परिसंघ आह्वान गर्दछ । हालको विषम परिस्थितीले निरुत्साहत बनिसकेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने र अन्ततः उद्यमीहरू पलायन हुनसक्ने अवस्थाप्रति सजग रहन समेत परिसंघ सम्वन्धित निकायहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छ ।”

यसअघि बिहीवार नै सीजीले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेको छ । कम्पनी नोक्सानमा रहेको अवस्थामा पनि बोनसको माग गर्दै व्यवस्थापनका अधिकारीमाथि निर्मम रुपमा कुटपिटमा उत्रिनु अशोभनीय रहेको भन्दै कडा शब्दमा विरोध गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “आफ्ना असहमतिहरूलाई शान्तिपूर्ण वार्ताको माध्यमद्वारा अगाडि सारिनुपर्नेमा व्यवस्थापनमा रहेका अधिकारीहरुमाथि कुटपिट गर्ने, ढुंगामुडा गर्ने, कार्यालयहरू तोडफोड गर्ने लगायतका अराजक गतिविधिहरू शैह्य नहुने व्यहोरा स्पष्ट रूपमा जानकारी गराइन्छ ।”



प्रतिक्रिया दिनुहोस !