१६ बैशाख २०८१, आइतबार

नेपालीको संख्या धेरै भएका देशमा तत्काल दूतावास खोल्नुपर्ने अवस्था छ : श्रममन्त्री भण्डारी

प्रकाशित मिति :  19 October, 2023 9:40 pm


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीहरूको संख्या उल्लेख्य भएका देशमा तत्काल दूतावास खोल्नुपर्ने अवस्था रहेको बताएका छन् ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकारहरूसँगको भेटघाटमा मन्त्री भण्डारीले नेपालीको संख्या ठूलो संख्यामा भएका मुलुकमा सरकारको उपस्थिति अनिवार्य गर्नुपर्ने सरकारलाई महसुस भएको बताए ।

मन्त्री भण्डारीले तत्काल दूतावास खोल्न सक्ने स्थिति नरहेमा ड्राइपोस्टिङ सिस्टमबाट भए पनि सरकारको उपस्थिति दर्ज गर्ने निर्णय भएको जानकारी दिए ।

विद्यमान दूतावासको साधन, स्रोत बढाउनका लागि पनि सरकार लागि परेको उनले बताए । ‘विभिन्न मुलुकमा जहाँ नेपालीहरूको संख्या उल्लेख्य छ, जहाँ हाम्रो उपस्थिति अनिवार्य छ, त्यस्ता मुलुकमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘दूतावास खोल्न सक्ने अवस्था भएन भने पनि ड्राइपोस्टिङको सिस्टमबाट हाम्रो उपस्थिति दर्ज गर्छौं भन्ने निर्णय गरेका छौँ ।’

त्यस्तो ड्राइपोस्टिङ प्रणालीमा परराष्ट्र मन्त्रालयको उपसचिव, श्रम मन्त्रालयको एउटा अधिकृत र लोकल स्टाफ गरी तीन जनाको सम्पर्क कार्यालय रहने मन्त्री भण्डारीले जानकारी दिए । ‘त्यसले त्यहाँ श्रम स्वीकृति, श्रमका विभिन्न समस्या, पासपोर्टका समस्याको समाधान गर्छ,’ उनले भने ।

ड्राइपोस्टिङ कुन-कुन देशमा राख्ने र श्रम सहचारी कहाँ राख्ने भन्ने विषयमा अध्ययन भइरहेको पनि मन्त्री भण्डारीले जानकारी दिए ।

श्रमसम्बन्धी समस्या अहिले भइरहेका राजदूतावासमा पनि आइरहेको मन्त्री भण्डारीको भनाइ थियो । ‘साधन स्रोतको कमीले गर्दा समस्या भइरहेको छ । मलेसिया, खाडी मुलुक, जापान र कोरिया लगायतका दूतावासमा जनशक्ति राख्न २० जनाको दरबन्दी कायम गरेका छौँ । स्थानीय स्टाफ राख्ने भनेको छौँ । दूतावासले तत्काल उद्धार गर्ने सामर्थ्य नभएकोले अप्ठ्यारो परेको छ, उद्धार कार्यमा । उनीहरूको लागि एउटा कोषको व्यवस्था गरिदिएका छौँ । सेल्टरमा पनि थप रकमको व्यवस्था गरिदिएका छौँ,’ उनले भने ।

मन्त्री भण्डारीले राष्ट्रिय आप्रवासन नीति बनाउनका लागि सरकारले विज्ञहरूको समूह बनाएर काम भइरहेको पनि जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !