१९ बैशाख २०८१, बुधबार

चालु पुँजी नभएका कारण डेरी उद्योगमा आर्थिक समस्या आयो : नेपाल डेरी एसोसिएसन

प्रकाशित मिति :  20 October, 2023 2:19 pm


काठमाडौँ । नेपाल डेरी एसोसिएसनले किसानको भुक्तानी तत्कालै गरिदिन आफ्ना सदस्यलाई आग्रह गरेको छ ।

एसोसिएसनले आज विज्ञप्ति जारी गर्दै भनेको छ,“सबै डेरी उद्योगी साथीहरू एवं नेपाल डेरी एसोसिएसनका सदस्यहरूलाई आआफ्नो तर्फबाट किसानलाई गरिदिनुपर्ने भुक्तानी समय मै गरिदिनुहुन हुन पनि आग्रह गर्दछौँ ।”

यस वर्ष फागुनदेखि नै बजारमा दुध तथा दुग्ध पदार्थको माग अत्यन्तै कम हुँदा समस्या सिर्जना भएको एसोसिएसनको भनाई छ ।

अध्यक्ष प्रल्हाद दाहाल र महासचिव हेमचन्द्र खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापित, आर्थिक मन्दीका कारण होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस नचल्नुले खपत कम भएको हो ।”

नेपालमा दुधको मूल्य बढ्दा भारतको भन्दा केही महङ्गो भएर भारतको सीमाबाट यता दुध तथा दुग्ध पदार्थ आयातले पनि नेपाली डेरी उद्योग क्षेत्र समस्यामा परेको एसोसिएसनको भनाई छ ।

एसोसिएसनले भनेको छ,“ यी यावत कारणले गर्दा यहाँ खपत कम हुन गई मिल्क होलिडे रोक्न हाम्रो देशका डेरी उद्योगहरूले किसानको दुध निरन्तर खरिद गरी पाउडर दुध बनाएर राख्नु पर्ने बाध्यता बन्यो । पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरी उद्योगहरूमा अर्वौं रकम बराबरको धुलो दुध र बटर स्टक भएर धेरै डेरी उद्योगहरूले किसानको भुक्तानी समयमै गर्न सकेका छैनन् । ”

डेरी उद्योगिहरूले किसानलाई दसैंको मुखमा भुक्तानी नपाउँदा दैनिक जीवन अस्तव्यस्त हुनुका साथै गाई भैँसीलाई नियमित दाना पानीसमेत खुवाउन किसानलाई कठिन भएको विज्ञप्तिमा उल्लेख छ ।

एसोसिएसनले भनेको छ,“सामान स्टक भएर चालु पुँजी नभएका कारण डेरी उद्योगमा यस्तो आर्थिक समस्या भएको हो । नेपालमा रहेका किसान र उद्योग बचाउनु हामी आम नेपाली सबैको कर्तव्य हो । त्यसैले यस पटक दसैँ, तिहार एवं छठ लगायतका चाडपर्वमा दुध तथा दुग्ध पदार्थ बढीभन्दा बढी खपत गर्ने र कतै जाँदा कोसेलीको रूपमा पनि दुध तथा दुग्ध पदार्थ नै लगी नेपालका किसान र उद्योग बचाउने अभियानमा साथ दिन आमजनसमुदायलाई नेपाल डेरी एसोसिएसन विनम्र अनुरोध गर्दछ ।”

एसोसिएसनले यो दसैँ, तिहार, छठमा आम जनसमुदायले अहिलेको डेरी क्षेत्रको समस्या बुझी दुध तथा दुग्ध पदार्थ भरपुर उपभोग गरी कतै पाहुना जाँदा पनि दुग्ध पदार्थ नै कोसेलीको रूपमा प्रयोग गर्ने आशा व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !