२ जेष्ठ २०८१, बुधबार

लुम्बिनी प्रदेशको राजधानी तोकिए लगत्तै रोक्का रहेको भालुबाङ क्षेत्रका जग्गा फुकुवा,कित्ताकाट भने नहुने

प्रकाशित मिति :  20 October, 2023 2:43 pm


भालुवाङ । लुम्बिनी प्रदेशको राजधानी तोकिए लगत्तै रोक्का रहेको भालुबाङ क्षेत्रमा कित्ताकाट नहुने गरि फुकुवा भएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले सर्तसहित रोक्का जग्गा फुकुवा गरेको हो ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेयले आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै रोक्का जग्गा फुकुवा भएको जानकारी गराएका हुन् ।

दसैँ लगत्तै राजपत्रमा सुचना प्रकाशन भएपछि जग्गा फुकुवाको निर्णय कार्यान्वयनमा आउने गृहमन्त्री पाण्डेले बताए । उनले भने,“ अहिले कित्ताकाट नहुने गरि जग्गा फुकुवा गरेका छौं । त्यसपछि विस्तारै ल्याण्ड पुलिङलाई असर नपर्ने गरि कित्ताकाट पनि फुकुवा हुन्छ ।”

पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेयले सरकारको व्यवस्थित राजधानी निर्माणको अवधारणलाई असर नपुराउने गरी र टुक्राएर बेच्न नपाउने सर्तमा रोक्का जग्गा फुकुवा गर्ने निर्णय भएको बताएका छन् । उनले भने,“स्थानीयको जनजीविका सहज गराउन र नागरिकका समस्या समाधानका लागि सरकारले यो निर्णय गरेको छ ।”

प्रदेश राजधानी घोषणा भएपछि सरकारले राप्ती उपत्यकामा २०७७ असोज १६ गतेदेखि जग्गा रजिष्ट्रेसन पास गर्न रोकेको थियो ।

सरकारको निर्णय अनुसार दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा, गढवा गाउँपालिकाका १,२,३ वडा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकाका ९ र ८ नम्बर वडामा जग्गा राजिष्ट्रेसन पास रोक्का गरिएको थियो ।

जग्गा रोक्काको अवधि लम्बिदै गएपछि स्थानीयवासी आन्दोलनमा समेत उत्रिएका थिए भने राप्ती गाउँपालिकाले व्यवस्थापनमा सहयोग नगर्ने प्रदेश सरकारलाई चेतावनी समेत दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !