३ जेष्ठ २०८१, बिहिबार

फलफूललगायत खाद्य सामग्रीको मूल्य दोब्बर महँगो भएको सर्वसाधारण गुनासो

प्रकाशित मिति :  22 October, 2023 6:01 pm


काठमाडौँ । नेपालीहरूको महान् चाड विजया दशमीको समयमा बजारमा फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बरले महँगो भएको भन्दै सर्वसाधारणहरूले दुखेसो पोखेका छन् । उनीहरूले चाडपर्वमा समेत सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा सर्वसाधारणले दुःख पाएको बताए ।

चाडपर्वमा सरकारले सहुलियत दिनुपर्ने ठाउँमा चाडपर्वका लागि चाहिने चिनी लगायतका खाद्य सामग्रीको अभावसमेत परिपूर्ति गर्न नसकेको बताए । बजारमा चिनीको अभाव र चामल लगायतका खाद्य सामग्रीहरूको गुणस्तरीयता नभएको समेत उनीहरूको भनाई छ ।

विगतका वर्षहरूको भन्दा यस वर्षको दसैँको समयमा मूल्यवृद्धि दोब्बर रहेको उनीहरूको भनाइ छ । सर्वसाधारण दिनेश श्रेष्ठ, साजना देवकोटा र जगतनारायण नायकले स्याउ, अनार लगायतका फलफूलमा धेरै महँगी बढेको गुनासो गरे । उनीहरूले सरकारले महँगी नियन्त्रण गर्नुपर्ने बताए । सामग्रीहरूको आवश्यकता पूरा गर्न सक्नुपर्ने र जनतालाई दुःख दिनु नहुने उनीहरूको भनाइ छ ।

त्यस्तै फलफूल व्यापारी लक्ष्मी श्रेष्ठले सामग्रीको गुणस्तर हेरेर मूल्य बढेको बताइन् । उनले विगतको भन्दा यस वर्ष अनार, नरिवल पानीको मूल्य बढे पनि अरू फलफूलमा खासै मूल्य नबढेको बताइन् । उनले आफूले पसल राखेको सात वर्षमा पहिलो पटक व्यापार घटेको बताएकी छन् ।

उनले भनिन्, ‘महँगी बढ्यो भनेको छ, तर सामग्रीको गुणस्तर हेरेर हुन्छ, अनार, नरिवल पानी बढेको हो । व्यापार पोहोरको भन्दा धेरै कम छ । व्यापार भएको छैन । ७ वर्षमा यो पहिलो पटक यस्तो कम व्यापार भएको हो । हामीले हरेस नै खाइसक्यौँ ।’ उनले यस वर्ष व्यापार नहुँदा व्यवसाय गर्न हरेस खानुपर्ने अवस्था सिर्जना भएको बताइन् ।



प्रतिक्रिया दिनुहोस !