६ कार्तिक २०८१, मंगलबार

मुद्धा दर्ता गर्न जनता समाजवादी पार्टीका नेता सरकारी वकिलको कार्यालयमा

प्रकाशित मिति :  28 April, 2020 3:00 pm


फाईल फोटो

काठमाडौं,१६ वैशाख ।

आफ्ना सांसद अपहरणबारे मुद्धा दर्ता गर्न जनता समाजवादी पार्टीका नेता सरकारी वकिलको कार्यालय बबरमहल पुगेका छन् ।

महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौंले मुद्धा दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरु मुद्धा दर्ता गर्न सरकारी वकिल कार्यालय पुगेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न जसपाका नेतासहित सांसद डा. सुरेन्द्र यादव पार्टीका नेताहरुलाई लिएर बबरमहलस्थित कार्यालय पुगेका हुन् ।

उनीहरुले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोजेपनि घटनास्थल महोत्तरीमै मुद्धा दर्ता गर्न भन्दै प्रहरीले मानेको थिएन ।

बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा.  यादवलाई वैशाख १० गते महोत्तरीबाट काठमाडौं ल्याएर नक्सालस्थित होटेल महोत्तरीमा राखेका थिए । सांसद यादवले आफूलाई जबर्जस्ती काठमाडौं ल्याएको भन्दै अपहरणको मुद्धामा अनुसन्धान गर्न जाहेरी दिन लागेका हुन् ।

तत्कालिन समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गर्दै आएका छन् । बैशाख ११ गते सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए ।

यादवले सार्वजनिक रुपमा आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बताउदै आएका छन् । यद्धपी खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !