१९ बैशाख २०८१, बुधबार

ललितपुरकाे जावलाखेलमा हुने १६ औं गोदावरी मेलाको तयारी पुरा

प्रकाशित मिति :  30 October, 2023 6:10 pm


काठमाडौँ । ललितपुरको जावलाखेलमा हुने १६ औं गोदावरी फूलको प्रतियोगितात्म प्रदर्शनी २०८० को तयारी पुरा भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

नजिकै आइरहेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानको आयोजनामा १६ औ सस्करणको रुपमा ललितपुरको जावलाखेलमा गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागि लागिएको हो ।

“रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८० कार्तिक १४ देखि १८ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा संचालन हुने थालेको हो ।

प्रदर्शनीमा व्यवसायिक स्टल ५१, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरि जम्मा ५७ वटा प्रदर्शनी कक्ष रहने छन् । यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको बिबिध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको छ ।

अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहेको छ । सबै कार्यको लागि तयारी पुरा भएको उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले बताए ।

यस प्रदर्शनीको सह–आयोजक संस्थाको रुपमा पुष्प बिकास केन्द्र रहेको छ । साथै सहयोगी संस्थाको रुपमा कृषि पुर्वधार बिकास तथा कृषि यान्त्रीकरण प्रबद्र्धन केन्द्र, प्रायोजक संस्थाको रुपमा सेवा कोकोपिट र बैंकिङ साझेदार संस्थाको रुपमा कृषि बिकास बैंक रहने भएको छ ।

मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने कार्यक्रम छ । प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा उत्कृष्ठ हुने नर्सरी÷फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ ।

मेलामा नेपालमा बिगत वर्षदेखि नै व्यवसायीक उत्पादन हुदै आएको बिबिध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातिका फूल बिरुवाहरूको समेत प्रदर्शनी तथा बिक्री बितरण हुनेछन् ।

यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समावेश हुने आयोजकले जनाएको छ ।

“यस मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास हामीले लिएका छौं,” पन्तले भने, “पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्रदान गरिने छ ।”

बिगातमा ४ दिने मेला हुने गरेकोमा यस बर्ष १ दिन थप गरी ५ दिने मेला आयोजना हुने भएको छ ।

यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष मीन बहादुर तामाङले बताए ।



प्रतिक्रिया दिनुहोस !