१९ बैशाख २०८१, बुधबार

‘अवैध रूपमा आयात हुने पुष्पलाई रोक्नको लागि सरकारले पहल गरेको छ’

प्रकाशित मिति :  31 October, 2023 3:54 pm


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले नेपालमा अवैध रूपमा आयात हुने पुष्पलाई रोक्नको लागि सरकारले पहल गरेको बताएका छन् ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई मंगलवार ललितपुरमा उद्धघाटन गर्दै मन्त्री भुुसालले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्दै आयातलाई निरुत्साहित गर्न अहिलेको आवश्यकता रहेको र त्यसकाे लागि सरकारले पनि पहल गर्दै आएकाे बताएका हुन् ।

भुसालले बीउ बिजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने र बीउ बिजनसम्बन्धी नियमावली चाँडो बन्नुपर्ने भएपनि बन्न नसकेकाले सरकारले बाधा अड्काउ फुकाएर नियमावली नबन्दासम्मको बाधा अड्काउ फुकाइएकोबाट नै काम गर्न सकिने बताए ।

उनले भने,“बीउ बिजनसम्बन्धी नियमावली नयाँ ऐनअनुसारको नयाँ नियमावली छिटो बन्नुपर्ने थियो, ढिलो भयो, त्यसले गर्दा केही बाधा परे भन्ने कुरा गरिसकेपछि ती बाधा अड्काउ फुकाएर नियमावली नबन्दासम्मको लागि त्यो बाधा अड्काउ फुकाइदिएको छ । जबसम्म नियमावली बन्दैन, तबसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न पाउनु हुनेछ । त्यसकारण केही दिनको लागि भनेर चिन्ता गर्नु पर्दैन । नियमावली बनाउने काम सरकारको हो । सरकारले गर्छ, उसको जिम्मेवारीको कुरा हो । ढिलो गरिएको छैन।’’

उनले उक्त नियमावली अर्थ र कानून मन्त्रालयको सहमति नलिइकन नियमावली पारित गर्न नसक्ने र छिटै पारित हुने समेत जानकारी दिए । भुसालले ३३ करोडको आयात र ६८ लाखको निर्यातको सन्तुलन नमिलेको बताउँदै आउँदो दिनमा यस व्यवसायलाई वृद्धि गर्दै निर्यातको पाटो बढाउनको लागि व्यवसायीलाई आग्रह गरे ।

त्यस्तै फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिन बहादुर तामाङले नेपाल सरकारले बजारमा प्लास्टिकजन्य फूलको आयातमा प्रतिबन्ध लगाए पनि बजारमा पाइएको भन्दै यसको अनुगमनमा थप कडाइ गर्नको लागि सरकारलाई अपिल गरेका छन् ।

तामाङले सरकारको केही नीतिका कारणले पनि यो क्षेत्र फस्टाउन नसकेको दाबी गरेका छन् । उनले भने, “सरकारले लगानीको वातावरणको सिर्जना गर्नुपर्छ र अवैद्य रूपमा आयात हुने वस्तुको ध्यान दिएर कडाइका साथ अघि बढ्नुपर्ने आवश्यक छ ।’’ उनले बीउ बिजनसम्बन्धी नियमावली नयाँ ऐनअनुसारको नयाँ नियमावली छिटो बन्नुपर्ने बताएका छन् ।

कृषि क्षेत्रको एक उद्योगकै रूपमा अगाडी बढीरहेको पुष्प व्यावसायको दिगो संस्थागत विकास, गुणस्तरीय उत्पादन आन्तरिक बजार व्यवस्थापन आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धन आदिमा सम्बन्धित संघ संस्थाहरूको साथ र सहयोगको आवश्यक रहेको बताए ।

उनले कोरोनाका कारण ठूला पुष्प उद्यमी धरासयी बनेको बताए । त्यसयता पुनः उठ्ने प्रयास गर्दै पुष्प क्षेत्रले सामान्य अवस्था अनुसारकै कारोबार गर्न थालेको एसोसिएसनको भनाइ छ । हरेक वर्ष १० देखि १५ प्रतिशतका दर फुल तथा पुष्पजन्य उत्पादनको माग बढ्ने गरेको एसोसिएसनको तथ्यांक छ ।

पुष्प विकास केन्द्र सह(आयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ ।

यसैगरी कृषि विकास बैंक बैंकिङ साझेदार रहेको एशोसिएनसले जनाएको छ । प्रदर्शनीमा व्यवसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल र र सूचनामूलक ५ गरि जम्मा ६२ वटा प्रदर्शनी कक्ष रहने छन् । बिगतमा ४ दिने मेला हुने गरेकोमा यस वर्ष १ दिन थप गरी ५ दिने मेला आयोजना हुनेभएको छ ।

हाल नेपालमा ४८ जिल्लाको करिब २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको फ्यानको तथ्याकं छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजार भन्दा बढि जनशक्ति रोजगारमा संलग्न छन् ।

यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलाको थप आकर्षणहरुमा यस बर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन बिक्री हुने गेट टिकट नंम्बरको आधारमा सोहि दिन बेलूकी लक्की ड्र गरी बिजेता हुन सफल एक जना मेला अवलोकन कर्ताहरुलाई गमला सहितको ५ वटा आकर्षक गोदावरी फूलको बिरुवा र ५ किलोको सेवा कोकोपिट उपहार प्रदान गरिने छ ।



प्रतिक्रिया दिनुहोस !