जलवायु अनुकुलनको लागि छुट्याइएको रकम नेपालले पाउनुपर्छः महासचिव गुटेरेस
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु अनुकुलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन्।
मंगलबार अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। महासचिव गुटेरेसले जलवायु अनुकुलनको लागि बनाइएका कोषहरूको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरूले पाउनुपर्नेमा जोड दिए।
उनले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अन्य देशहरूलाई आग्रह गरे। उनले जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने बताए। महासचिव गुटेरेसले जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने बताए।
जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यवद्धता आवश्यक रहेको उनको भनाइ छ ।








