७ जेष्ठ २०८१, सोमबार

भरतपुर कोरोना अस्पतालमा अख्तियारको छापा, कारवाही गर्ने विप्लव नेतृत्व नेकपाको चेतावनी

प्रकाशित मिति :  28 April, 2020 6:03 pm


काठमाण्डौं, १६ वैशाख ।

चितवनको भरतपुरको कोरोना अस्पतालमा विभिन्न सामाग्री चोरी भएको सार्वजनिक भएपछि अख्तियारले छापा मारेको छ भने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चोरीमा संलग्नलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

सामान चोरी भएको घटना सार्वजनिक भएपछि आज मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारको हैटौडाबाट गएको टोलीले कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

अस्पतालको स्टोरबाट चप्पल, मास्क, सेनिटाइजरलगायत सामग्री चोरी भएपछि भरतपुर महानगरपालिकाले छानबिन समिति समेत बनाएको छ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा महानगर र अस्पतालका एक एक जना सदस्य रहने गरी तीन सदस्यीय समिति गठन भएको हो।

यसैबीच, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले जनताको रगत–पसिनाबाट भरतपुरमा निर्मित कोरोना अस्पतालका सामान चोर्ने कर्मचारीलाई सरकारले तत्काल कारबाही नगरे आफ्नो पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ ।

चीतवन जिल्ला पार्टीका जिल्ला सेक्रेटरी विजय शर्माले आज प्रेस विज्ञप्ति गर्दै कारवाहीको चेतावनी दिएका हुन् ।

सेक्रेटरी शर्माको विज्ञप्तिमा भनिएको छ, ‘ यस्तो विषम परिस्थितिमा यहाँका दलाल सत्ताधारीद्वारा संरक्षित कर्मचारीहरूले नेपाली जनताको रगत र पसिनाद्वारा निर्माण गरिएको भरतपुुर कोरोना अस्पतालमा चोरी गरेको घटना यही २०७७ वैशाख १६ गते विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक भएकाले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेकपाले घटनालाई घृणित कार्य भन्दै घटनामा संलग्न कर्मचारीमाथि तुरुन्त कडाभन्दा कडा कारबाहीको जोडदार माग गरेको छ । घटनालाई टालटुल पारी दोषी व्यक्तिलाई उन्मुक्ति दिने कार्य गरिएमा आफ्नो पार्टीले कारवाही गर्ने नेकपा चितवनले चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !