समानुपातिक सांसद बनाउँदा संविधान उल्लंघन भयो : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लंघन भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधानको मर्मविपरित धनाढ्य व्यक्तिहरूलाई समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाइएको बताए । महिलाको कोटामा शक्तिशाली राजनीतिक दलका नेताका परिवार सदस्यहरू नियुक्त भइरहेको उनको धारणा थियो ।
“जनजातिको नाममा धनाढ्य व्यक्तिहरू जसको उपस्थिति ब्राण्डेड लुगा लगाएर पछिल्लो सिटमा बस्ने, आउने जाने बाहेक हामीले देख्न पाएका छैनौं । नीति निर्माणमा उहाँहरूले मनमनै योगदान दिनुभएको छ होला । त्यो देख्न पाएको छैन । त्यसैगरी शक्तिशाली राजनीतिक दलका परिवारका सदस्यहरू महिलाका कोटामा आएका छन् । दलित, मधेसी, थारु, मुस्लिम लगायतका समूहबाट पनि शक्तिशाली व्यक्तिहरू वर्षौंदेखि राजनीतिमा छन् र वर्षौंदेखि स्थापित भइरहेकाहरू नै आएका छन् । पटकपटक मन्त्री भएका नेता यही प्रणालीबाट सांसद भएका छन् । संविधानको ठाडो उल्लंघन भएको हामी सबैलाई थाहा छ,” उनले भने ।
सभापति लामिछानेले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै त्यसका निम्ति आफूहरू सांसदको रूपमा भूमिका खेल्न तयार रहेको उल्लेख गरे ।








