१७ बैशाख २०८१, सोमबार

काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई पनि छैनः उपप्रधानमन्त्री खड्का

प्रकाशित मिति :  3 November, 2023 3:48 pm


काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।

आगामी २०८३ साल चैत्र मसान्त भित्र सम्पन्न गरिसक्न मन्त्रीपरिषद् बैठकले निर्णय गरेकाले सोही समयमा नेपाली सेनाले सो आयोजनाको काम पूरा गर्नुपर्ने उनको भनाइ थियो । शुक्रवार सिंहदरबारमा मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सो योजना सम्पन्न गर्ने काम थपिएको समयभन्दा पछि टार्ने छुट कसैलाई पनि नरहेको बताए ।

उनले देशकै प्रतिष्ठाकै विषय भएको सो आयोजनाको काम सम्पन्न गर्न अब नेपाली सेनाले पनि ढिलाइ नगर्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री खड्काले सो आयोजनाको कुनै पनि समस्या तत्काल समाधान गरेर अघि बढ्न नेपाल सरकार तयार रहेको पनि पटक पटक दोहोर्‍याए ।

उनले सो आयोजनाको ठेकदारहरूलाई पनि ढिलाइ नगर्नका लागि अनुगमनको काममा कडाइ गर्नुपर्ने समेत बताए ।

उपप्रधानमन्त्री खड्काले कुनै पनि काममा ढिलाइ नगर्न मन्त्रालय मातहतका निकायलाई सचेत गराए ।



प्रतिक्रिया दिनुहोस !