८ जेष्ठ २०७९, आइतबार

सत्तारुढ नेकपाभित्रको विवादबारे पूर्वसभामुख महराले मुख खोले

प्रकाशित मिति :  29 April, 2020 11:09 am


काठमाडौं, १७ वैशाख ।

पूर्वसभामुख कृष्ण बहादुर महराले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

आज विज्ञप्ति निकालेरै पूर्वसभामुख महराले नेकपाभित्रको विवादले आम जनता निराश भएको भन्दै संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न अपिल गरेका छन् ।

उनले भनेका छन्,‘मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निराश भनेका छन् ।

यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनुपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन ।’

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनीधिसभा सदस्य समेत रहेका महराले अहिलेको विषय परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्यता देखिएको समते औंल्याएका छन् ।

उनले हालको अवस्थामा सबै दल तथा जनसमुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला भएको समेत जनाएका छन् ।
उनले भनेका छन्,‘ दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद,सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपिल गर्दछु ।’
दलविभाजन अध्यादेश ल्याएपछि सत्तारुढ नेकपाभित्र विवाद चर्किदै गएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालपक्षबीच विवाद चुलिएको छ ।

मनोमानी गरेको भन्दै प्रचण्ड र नेपाल पक्षधरले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट ओली राजिनामा दिनेपर्ने माग गरेका छन् भने प्रधानमन्त्री ओलीले अस्वीकार गरेका छन् ।

विवाद मिलाउन दुबै पक्षका नेता आन्तरिक छलफलमा जुटेपनि सहमति हुने सकेको छैन । विवादकै बिच आज बेलुकी पार्टी सचिवालय बैठक बोलाईएको छ ।

पार्टीमा विवाद चर्किरहेका बेला पूर्वसभामुख महराले विज्ञप्ति जारी गरेरै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !