२४ बैशाख २०८१, सोमबार

‘अराजकता र अस्थिरताका प्रवृत्ति देखिएको’भन्दै शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने दलबिच छलफल

प्रकाशित मिति :  7 November, 2023 6:29 pm


काठमाडौं । १२ बुँदे समझदारी र शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने दलहरूबिच छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा विस्तृत शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने दलहरूबिच आज छलफल भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरूको निष्ठ अविछिन्न रहेको प्रतिबद्धता व्यक्त गर्दै त्यसको विरुद्ध हुने अराजकताको विरूद्ध डटेर सामना गर्ने बताएका छन् ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने पार्टीबिचको समीक्षा बैठक मात्र भएको बताए । उनले भने,“परिवर्तनका बाहकहरू एकठाउँमा बसेर सामान्य समीक्षा गर्ने कुरा आफैंमा एउटा परिणाम भएको ठान्दै महत्वपूर्ण यस छलफललाई मैले भएको मानेको छु ।”

प्रधानमन्त्री प्रचण्डले छलफलमा सबै दलहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको कुरा सबलरुपमा उठेको उल्लेख गर्दै यसको रक्षाको लागि मैदानमै उत्रिनेसम्मको भावना ऐतिहासिक प्रक्रियामा दुरगामी अर्थ राख्ने बताए ।

प्रधानमन्त्रीले आफूले धेरै ठूलो संकट परेर बैठक बोलाएको नभई अराजकता र अस्थिरताका प्रवृत्तिहरू देखा परेकाले परिवर्तनका बाहक शक्तिहरूले आफ्नै समीक्षा गर्नुपर्ने भएको बताए ।

यस्ता छलफलले नै त्यसप्रकारका प्रवृत्तिको प्रतिवाद हुने र परिवर्तनलाई कार्यान्वयन र परिमार्जनमा सहयोग पुग्ने प्रधानमन्त्रीको धारणा थियो । प्रधानमन्त्रीले बैठकको औचित्य, आवश्यकता र संघीय लोकतान्त्रिक गणतन्त्र बारे सहभागी सबै दलहरु एकै छौं भन्ने प्रष्ट देखिएको बताए ।



प्रतिक्रिया दिनुहोस !