१६ कार्तिक २०८१, शुक्रबार

मौलिक मेला पर्वबाट लोकतन्त्र बलियो बनाउन सहयोग पुग्छ : सञ्चारमन्त्री शर्मा

प्रकाशित मिति :  16 November, 2023 7:50 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्य र न्यायलाई नेपाली समाजको मानकको रुपमा मनाइने मौलिक मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने बताइन् ।

प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ७ पुण्यखोलामा भएको ऐतिहासिक तथा सांस्कृतिक डल्ले सराय मेला २०८० को उद्घाटन गर्दै उनले समाजमा देखिने दानवीकरण र अहंकारलाई अन्त्य गरी सत्यको विजयको पक्षमा मनाइने मेला पर्वहरुले लोकतन्त्रलाई बलियो बनाउने बताएकी हुन् ।

मौलिक मेला पर्वहरु नेपालमा एकता र वीरताको बिम्बको रुपमा मनाइने भएकाले पनि सामाजिक सद्भाव कायम गर्दै जनतालाई एकताबद्व गर्ने र सामाजिक काममा स्वस्फूर्तरुपमा जनपरिचालन हुने यो महत्त्वपूर्ण प्रणाली भएको मन्त्री शर्माले बताइन् ।

उनले मेला पर्वहरुले कुनै न कुनै बेला समाजले प्रयोग गरेका चालचलनमा आधारित भएकाले समयानुकूल परिमार्जन गर्दै प्रचलनमा राखिरहनुपर्ने बताइन् । सबै चाडपर्व र मेलाहरु तत्कालीन समाजले सत्यको पक्षमा गरेका प्रगतिशील अभ्यासमा आधारित रहने गरेका मौलिक मेला पर्वहरुलाई समाज विकासको मानकको रुपमा हेर्न सकिने पनि उनले बताइन् ।

मौलिक मेला पर्वहरुको निरन्तरता र संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले पछिल्लो समय स्थानीय तहहरुले कार्यक्रम बनाउनु अझ महत्त्वपूर्ण भएको बताइन् । धेरै पुराना मौलिक संस्कृति लोप हुने खतरा देखिएकाले नयाँ पुस्तालाई सस्कृति हस्तान्तरणमा सबैको ध्यान जानु आवश्यक रहेकोमा उहाँले जोड दिइन् ।

परम्परागत रुपमा मनाइने मेलाहरुको मर्ममा असर नपर्ने गरी स्वरुप परिवर्तन गरेर प्रतिस्पर्धा त्मक बनाउदै लैजानु महत्त्वपूर्ण परिवर्तन भएको पनि उनले बताइन् । प्युठानको सराय नाच नेपालकै प्रसिद्व रहेको उल्लेख गर्दै उनले तरवारसहित नाचिने युद्धकलामा आधारित यो नाचमा महिला पुरुषको समान सहभागिता हुनु समावेशीकरणको उच्च नमुना भएको बताइन् ।

नेपालमा लैङ्गिक विभेद तोडिनुमा जनयुद्धको महत्त्वपूर्ण योगदान रहेको औंल्याउदै मन्त्री शर्माले राजनीतिक परिवर्तनको अभ्यास घर घर र समुदायस्तरदेखि गर्नुपर्ने बताइन् । तेह्रौं शताब्दीमा जनतामाथि क्रूर शासन गरिरहेका भित्रीकोट राज्यका जाड राजालाई जनताको सहयोगमा चन्द राजाले लखेटेर मारेको किवदन्तीका आधारमा जनताको जीतको बिम्बको रुपमा तरवारसहित लडाइँको अभिनय गरेर नाचिने सराय नाचको प्रतिष्पर्धासहित यो मेला सन्चालन गर्ने गरिएको बताइएको छ ।

पश्चिम क्षेत्रमा र खासगरी मगरात क्षेत्रमा तत्कालीन सेनाले प्रयोग गरेका हतियारको रुपमा प्रयोग गरेका ढाल, तरवार र खड्गको प्रदर्शन गरेर यो मेलामा स्थानीय साहस देखाउने गरिन्छ । यो वर्ष विभिन्न मौजाका नौ समूहले प्रतियोगितामा भाग लिएका छन् ।

मौलिक सस्कृतिको संरक्षणका साथै विकृति विसङ्गति हटाउदै लैजानु पनि सरकारको दायित्व भएको स्पष्ट गर्दै उनले टिकटकमा रोक लगाउनु विकृति रोक्ने सरकारको पछिल्लो प्रयास भएको बताइन् । मन्त्री शर्माले अन्य सामाजिक सन्जालको व्यवस्थापनका लागि पनि सामाजिक सन्जालसमबन्धी निर्देशिका जारी गरिएको र ऐन निर्माणको पनि तयारी थालिएको जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !