२३ बैशाख २०८१, आइतबार

लुम्बिनी सरकार विस्तारका लागि‘आवासीय छलफल’, केन्द्रले जबर्जस्ती गरे सरकार छोड्ने कांग्रेसको चेतावनी

प्रकाशित मिति :  20 November, 2023 3:08 pm


दाङ । लुम्बिनी प्रदेश सरकार विस्तारको गाँठो फुकाउने नेकपा (माओवादी केन्द्र) र नेपाली कांंग्रेसको प्रयास असफल भएको छ ।

दाङ तुल्सीपुरमा आज भएको दुई चरणको छलफल भए पनि सहमति हुन नसकेको हो ।

सरकार विस्तारका लागि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, नेकपा माओवादी केन्द्रकी नेतृ एवं पूर्व सभामुख ओनसरी घर्ती,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराबिच भएको छलफलमा सहमति हुन नसकेको हो ।

सामूहिक छलफलपछि उपमहासचिव वर्षमान पुन र नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनबिचमात्रै भएको छलफलमा पनि सहमति कायम हुन सकेन ।

छलफलमा नेपाली कांग्रेसले मन्त्रालयको सङ्ख्या बढाउन नहुने अडान राखेको छ । माओवादी केन्द्रले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्ने बताएको छ ।

लुम्बिनी प्रदेशमा गठबन्धन अन्तर्गत अहिले नेपाली कांग्रेसले मुख्यमन्त्री र एउटा मन्त्रालय, माओवादी केन्द्रले १, लोकतान्त्रिक समाजवादी पार्टीले १, जनमत पार्टीले १, नागरिक उन्मुक्ति पार्टीले १ मन्त्रालय लिएका छन् ।

गठबन्धनका मुख्य दल नेपाली कांग्रेस र माओवादी केन्द्रबिच मन्त्रालयको सङ्ख्यामा कुरा नमिलेपछि चौधरी नेतृत्वको सरकार बनेको ७ महिना भन्दा बढी भए पनि पूर्णता पाउन सकेको छैन ।

नेकपा माओवादी केन्द्रले ३ वटा मन्त्रालय दाबी गरिहेको छ । मन्त्रालयको सङ्ख्या बढाए स्वत कांग्रेसकाे पनि मन्त्रालय बढ्छ ।

लुम्बिनीमा अहिले मन्त्रालयको सङ्ख्या १० रहेको छ । दुबै पार्टीको माग सम्बोधन गर्न मन्त्रालयको संख्या १३ सम्म पुराउनुपर्ने दबाब मुख्यमन्त्री चौधरीलाई छ ।

समस्या लम्बिदै गएपछि मुख्यमन्त्री चौधरीले नेताहरूका लागि आवासीय छलफलको व्यवस्था गरेका थिए ।

मुख्यमन्त्री चौधरीले तुल्सीपुरमा रहेको आफ्नो थारु संग्राहलयमा दुबै पक्षका नेतालाई आवाससहितका छलफलको व्यवस्था गरेका थिए । यद्यपी छलफलमा सहमति हुन सकेन ।

प्रतिष्ठाको विषय

नेकपा माओवादी केन्द्रले दिपेन्द्रकुमार पुन ‘सिजल’लाई मन्त्री बनाउन खोजेको छ ।

सिजल रोल्पामा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको बागी उठेर चुनाव जितेका थिए । सिजलले नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरेका थिए ।

गठबन्धनको निर्णय विरुद्ध गएको भन्दै माओवादी केन्द्रबाट सिजलले राजीनामा दिएका थिए भने पार्टीले पनि कारबाही गरेको थियो ।

बिचमा गठबन्धन टुटेर नेकपा एमाले र माओवादी केन्द्रको सरकार बनेपछि सिजल पुनः नेकपा माओवादी केन्द्रमा फर्किका थिए । अहिले फेरि कांग्रेस र माओवादी केन्द्रको गठबन्धन छ ।

भेटमा उपमहासचिव पुनले सिजललाई सरकार बनाउनुपर्ने बाध्यता रहेको तथा रोल्पामा नकारात्मक सन्देश जान खोजेकालाई यसलाई बुझिदिन आग्रह गरेका थिए ।

सभापति अमरसिंह पुनले भने अहिले मन्त्रालयको संख्या बढाउन नसकिने र प्रदेश पार्टीले सुरुमै निर्णय गरिसकेको जानकारी गराएका थिए ।

उपमहासचिव पुनले केन्द्रबाट निर्णय गर्ने प्रसंग निकालेपछि सभापति पुनले केन्द्रले जर्वजस्ति गर्न खोजे आफूहरू सरकार बाहिर रहन सक्ने चेतावनी दिएका थिए ।

नेकपा माओवादी केन्द्रले बागी सांसदलाई मन्त्री बनाउन खोजेपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रतिष्ठाको विषय बनाउन खोजेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !