५ जेष्ठ २०८१, शनिबार

भैरहवा विमानस्थल सञ्चालनको वातावरण बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह

प्रकाशित मिति :  22 November, 2023 5:01 pm


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पुर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

रुपन्देहीको भैरहवामा आजदेखि शुरु छैटौं लुम्बिनी प्रादेशिक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्बौँ रुपैयाँ लगानी जोखिममा परेको बताए ।

उनले भने,“विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन, अहिले निजी क्षेत्रको मात्र हैन सरकारकै लगानी पनि जोखिममा परेको छ ।”

विमानस्थल सञ्चालनसंगै गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तराष्ट्रिय पर्यटकको आर्कषण केन्द्र बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले भने,“विमानस्थल बनेपछि , व्यावसायिक गतिविधि बढ्ला भनेर आसपासमा करोडौं रुपैयाँ लगानी गरेकाहरूको लगानी जोखिममा परेको छ । यतातर्फ सरकार र सम्वन्धित सवै निकायको ध्यान जान जरुरी छ, ।”

अर्को प्रसंगमा अध्यक्ष मल्लले सार्वजनिक निजी साझेदारी मार्फत भैरहवा सेजलाई सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । भैरहवा सेजमा उद्यमी व्यवसायीको सहभागिता गराउन विभिन्न नीतिगत समस्याहरू रहेको उनको भनाई छ ।

यद्यपी भैरहवा सेजमा साना तथा मझौला उद्यमी एवं घरेलु उत्पादनहरुको प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोडदिए ।

मुलुककै सवैभन्दा धेरै राजश्व संकलन गर्ने भन्सार नाका मध्ये रुपन्देही पनि एउटा भएको भन्दै उहाँले खुला सीमाको फाईदा उठाएर हुने अवैध व्यापारलाई भने नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !