६ जेष्ठ २०८१, आइतबार

मुलुकलाई समृद्ध बनाउन महिलालाई नेतृत्वमा लैजानुपर्छः अष्टलक्ष्मी शाक्य

प्रकाशित मिति :  24 November, 2023 3:00 pm


काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष एवं पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय लोकतन्त्रक गणतन्त्रलाई संस्थागत गर्न सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएकी छन् ।

उपाध्यक्ष शाक्यले संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सबै दलहरु नमिली सुखै नभएकोमा जोड दिइन् ।

ललितपुरमा आयोजित ‘राजनीतिको महिलाकरण’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले समाजवादमा जाने लक्ष्य किटान गरेकाले सबै राजनीतिक दलहरुले संविधानको कार्यान्वयनमा जोड दिएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।

उपाध्यक्ष शाक्यले भनिन्, “राजतन्त्र हटाएर संघीयतासहितको गणतन्त्र ल्यायौं । अहिले संविधानले समाजवादीको लक्ष्य बोकेको छ । उपलब्धिहरु धेरै भएका छन् । अहिले हाम्रो काम भनेको आन्दोलनबाट उपलब्धि भएको छ । त्यो उपलब्धिलाई रक्षा गर्ने मात्रै होइन, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने हाम्रो दायित्व हो । हामी सबै दलहरूको हो । त्यो नगरी सुखै छैन । यसो भएको हुनाले बलिदानबाट ल्याएको संविधान, बलिदानबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने, बचाउने र यसलाई संस्थागत गर्ने तथा समृद्ध नेपाल निर्माण गर्ने हाम्रो महत्वपूर्ण दायित्व हो । समाजवादमा पुग्ने हाम्रो लक्ष्य हो । त्यसो भएको हुनाले हामी दलहरू नमिली सुखै छैन, मिलेर यसको प्रभावकारी कार्यान्वयन नगरी सुखै छैन ।”

कार्यक्रममा बोल्दै एमालेकी स्थायी समिति सदस्य एवं पूर्वसांसद डा. विन्दा पाण्डेले संविधानमा व्यवस्था गरेको समावेशी प्रतिनिधित्वको सवालमा महिलाहरू आफैँ स्पष्ट हुनुपर्ने बताइन् । उनले महिलाहरूले पार्टीबाट प्रतिनिधित्व गरेर गएपनि सबै जनताको प्रतिनिधिको रूपमा आफू रहेको कुरालाई मनन गर्दै सोही अनुसार काम गर्नुपर्ने स्मरण गराइन् ।



प्रतिक्रिया दिनुहोस !