६ जेष्ठ २०८१, आइतबार

जिल्ला प्रशासन कार्यालयले भन्यो :काठमाडौँमा गैरकानूनी हर्कत चल्दैन

प्रकाशित मिति :  24 November, 2023 3:58 pm


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको स्पष्ट गरेको छ। प्रशासनले काठमाडौँमा कसैको पनि गैरकानुनी हर्कत सह्य नभएको बताएको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आन्दोलनलाई सुरक्षित बनाउन उपत्यकाको सुरक्षा व्यवस्था मजबुत बनाएको बताए ।

उनले बैठकमा काठमाडौँको सुरक्षा चुनौती विश्लेषण गरिएको र यथोचित सुरक्षा प्रबन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरूसँग छलफल गरेको बताए । उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पु(याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने उनीहरूमाथि आक्रमण गर्ने कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको स्पष्ट पारे ।

उनले कानुन हातमा लिने कुप्रयास गर्ने समूह र व्यक्तिलाई चेतावनी स्वरूप अनुमति बिना कार्यक्रम गर्न नपाइने व्यवस्था गरेको बताए । उनले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा बिहीवार साँझ पत्रकार सम्मेलन गरी कानुनलाई चुनौती दिने र गैर कानुनी कार्यक्रम सार्वजनिक गरेको भन्दै गैर कानुनी हर्कत काठमाडौँमा नचल्ने चेतावनी दिए ।

उनले,”हिजोदेखि दुई वटा पक्षको काठमाडौँमा कार्यक्रम थियो । आज एउटा पक्षले त्यो कार्यक्रमलाई निरन्तर रूपमा अनिश्चित कालसम्म गर्ने भनेर अघि बढाइरहेको छ । काठमाडौँको सुरक्षा व्यवस्था कडा बनाएका छौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लाकै सुरक्षा व्यवस्था कडा छ । संविधानमा प्रदत्त नागरिकको अभिव्यक्ति, स्वतन्त्रता हक र बिना हातहतियार भेला जम्मा भई शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न पाउने हकको सम्मान गर्दै यस्ता अराजक भीड जसले कानुन हातमा लिन खोजेको छ, त्यस्ता समूह र व्यक्तिलाई चेतावनी स्वरूप अनुमति बिना कार्यक्रम गर्न पाइँदैन भनेका छौँ । उहाँहरूले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा हिजो बेलुका कानुनलाई चुनौती दिने र गैर कानुनी हर्कत गर्ने काम गर्नुभयो । यस्ता गैर कानुनी हर्कत काठमाडौँमा चल्दैन ।”

प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्दमा नराखिएको र सुरक्षा प्रदान गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !