१२ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बैठकमा कुनै सहमति भएन, अर्को बैठक बैशाख २० गते

प्रकाशित मिति :  29 April, 2020 9:26 pm


सचिवालय बैठकपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड । फोटो : कृष्णगोपाल श्रेष्ठको फेसबुकबाट

काठमाण्डौं, १७ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरी बस्ने गरेर सकिएको छ ।

पार्टीभित्र विवाद बढिरहेका बेला आज प्रधानमन्त्री निवास बालुवाटारमा  बैठक बसेको थियो । बैठकमा गम्भीर छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नुभएको स्थायी कमिटी बैठकका बारेमा र त्यससँग जोडिएका विविधि पक्षमा विचार विमर्श भयो ।’

प्रवक्ता श्रेष्ठले यही बैशाख २० गते फेरी बैठक बस्ने जानकारी दिए । यो बीचमा पार्टीको नेतृत्व पंक्तिले आन्तरिक विवादबारे सहमतिका लागि थप छलफल र गृहकार्य गर्ने प्रवक्ता श्रेष्ठको भनाई छ ।

नेकपा सचिवालय बैठकको समाचार संकलन गर्न गएका पत्रकारहरु । समाचार संकलन गर्न गएका पत्रकारहरुलाई प्रधानमन्त्री निवास परिसरमा समेत जान रोक लगाईएको थियो ।

अर्को बैठकले स्थायी कमिटी बैठक बोलाउने बारेपनि निर्णय हुने श्रेष्ठको भनाई छ । पार्टीमा विवाद चर्किएपछि २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गरेका छन् । साथै अर्को बैठकले पार्टी एकता, आर्थिक सामाजिक लगायतका विषयमा पनि प्रस्ताव तयार गर्ने प्रवक्ता श्रेष्ठको भनाई छ ।

राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि सत्तारुढ नेकपाभित्रको विवाद चर्किदै सांसदहरुको हस्ताक्षर संकलनको तहसम्म पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली एकतिर र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष अर्कोतिर भएर बहस र विवाद भईरहेको छ । आज मुख्य के विषयमा जोड थियो भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने,‘ के मा जोड थियो भन्ने विषयमा मैले सबै जोड र कोणबाट भनिसकेको छु, बुझ्नुहोला ।’

प्रचण्ड र माधव नेपाल पक्ष स्थायी कमिटी बोलाउनुपर्ने पक्षमा छ भने प्रधानमन्त्री ओली त्यसलाई टार्न खोजेको आरोप लागेको छ । आजको बैठकले केही सकारात्मक सन्देश दिने अपेक्षा गरेपनि फेरी अर्को बैठक बस्ने भन्दै नेताहरु बालुवाटार बैठकबाट बाहिरिएका छन् ।



प्रतिक्रिया दिनुहोस !