१२ श्रावण २०८१, शनिबार

संसद र समिति सञ्चालन गर्न सरकारले बजेट नियन्त्रण गर्‍यो : सभामुख

प्रकाशित मिति :  27 November, 2023 4:23 pm


काठमाडौँ। सभामुख देवराज घिमिरेले संसद र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताएका छन् ।

सोमबार संसदीय समितिका सभापतिहरूसँग समितिको कामकारबाहीलाई अघि बढाउने बारे सिंहदरबारमा छलफल गर्दै उनले यस्तो बताएका हुन् । उनले संसद् र संसदीय समितिको बैठक कार्यालय समयमै राख्न अर्थमन्त्री डा.प्रकाशशरण महतले आग्रह गरेका थिए । उनले नियमित समय बाहेक बैठक राख्दा कर्मचारीहरूलाई अतिरिक्त सुविधा नदिएको गुनासो कर्मचारीहरूले गरेको बताए ।

सभामुख घिमिरेले विगतमा संसदलाई विभिन्न विदेशी एवं दातृ निकायहरूबाट सहयोग प्राप्त हुने भएपनि पछिल्लो समय सहयोग घट्दै गएको र कतिपय सहयोग नेपालका लागि उपयुक्त नभएकाले पनि कम बन्दै गएको बताए । उनले संसदीय गतिविधि अघि बढाउन आर्थिक पाटोलाई अर्थमन्त्री डा.महतले नियन्त्रण गरेको बताए । बजेटको अभावमा सभा प्रभावकारी हुन नसकेको र सरकारले संसदलाई चलायमान र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए ।

सभामुख घिमिरेले विगतका बैठकमा कर्मचारीहरूलाई अतिरिक्त समयको भत्ता दिन नसकेको भन्दै यसलाई व्यवस्थित नगर्ने हो भने संसद् र संसदीय समिति चल्न कठिन हुनेको बताए ।

सभामुख घिमिरेले संसदीय समितिहरूमा विषयवस्तु दोहोरिने र कार्यक्षेत्र स्पष्ट नहुने समस्या रहेको भन्दै आवश्यक समिति सभापतिहरुले समन्वय गर्नुपर्ने बताए । उनले कार्यक्षेत्र र विषयवस्तुमा समस्या भए छलफल गरी समाधान गर्नुपर्नेमा सोच्न समिति सभापतिहरूलाई निर्देशन दिए ।

सभामुख घिमिरेले समिति बनेको ५ महिना बितिसक्दासमेत समितिको कार्यक्षेत्र स्पष्ट नभएकोमा आपसी समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !