१२ श्रावण २०८१, शनिबार

सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम ब्याज खान होइन : श्रममन्त्री भण्डारी

प्रकाशित मिति :  27 November, 2023 4:41 pm


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताबाट संकलन भएको रकम बैंकमा राखेर ब्याज खान स्थापना नभएको बताएका छन् ।

सोमबार छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै श्रममन्त्री भण्डारीले धेरै मुलुकमा आर्थिक संकट परेको बेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास रहेको बताए ।

उनले कोषमा जम्मा भएको रकम परिचालन विविधीकरण गरेर राष्ट्रिय पुँजीको रुपमा निर्माण गरी राष्ट्र निर्माणको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए ।

सुरक्षा कोषले लगानीलाई उपयुक्त रूपमा परिचालन गर्ने भन्दै उनले अस्थायी र करारका कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षामा आवद्ध गराउने प्रधानमन्त्रीको प्रतिवद्धताअनुसार काम अन्तिम चरणमा पुगेको बताए । उनले स्वीकृतिको लागि अर्थ मन्त्रालयमा फाइल पठाएको उनले बताए ।

श्रम ऐनमा दिएका अधिकारहरू प्रयोग गरेर श्रम मन्त्रालयले सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउने काममा प्रतिवद्ध रहेको उनले बताए । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने विषयमा रहेका कानुनी कमीकमजोरीहरूलाई सहकार्य गरेर कार्यविधि सुधार गर्दै लैजाने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !