१२ श्रावण २०८१, शनिबार

रवि लामिछानेको दाबीः रास्वपाले मधेशको पीडा सम्बोधन गर्न चाहेको छ

प्रकाशित मिति :  27 November, 2023 5:10 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशको पीडालाई सम्बोधन गर्न आफ्नो पार्टीले चाहेको दाबी गरेका छन् ।

सोमबार महोत्तरीको जलेश्वरमा आयोजित पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकअघि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले मधेशमा विद्यमान गरिबी, अशिक्षा, बेरोजगारीसहितको विभेद अन्त्य गर्नुपर्ने सन्देश दिनका लागि आफूहरूले पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा गर्ने निर्णय लिएको बताए ।

‘भोगिरहेका मधेसको बारेमा हामीले जान्नुपर्ने थियो, बुझ्नुपर्ने थियो । देखाउनु, बुझाउनुपर्ने थियो । जुन यहाँहरूले वर्षौंदेखि भोग्दै आउनुभएको छ । विशेष गरेर अझ भित्री मधेश, जसले एउटा गरिबी, अशिक्षा र बेरोजगारी, विभेदपूर्ण अवस्था व्यहोर्नुपरेको छ । ती कुराहरुलाई बाहिर ल्याउन यहाँ बैठक गरिएको हो,” उनले भने ।

पार्टीले मधेशलाई प्राथमिकतामा राखेको र सरकारलाई पनि प्राथमिकतामा राख्न आफूहरूको बैठकले सहयोग गर्ने उनको भनाइ छ । उनले भने, “हाम्रो कुन प्राथमिकतामा मधेश छ । र, सिंगो देशले कुन प्राथमिकतामा मधेशलाई राखेको छ ? भन्ने कुरा बुझाउन एउटा सानो प्रयास गर्न सकिन्छ कि भनेर हामी यो बैठक जलेश्वरमा गर्ने भनेर छानेका हौँ”।

सोमबारबाट सुरू भएको बैठकमा सभापति लामिछानेले राजनीतिक प्रश्ताव पेस गरेका छन् । पार्टीको हालसम्मका कार्यक्रमको समीक्षा गरी भावी कार्यक्रम पनि सो बैठकले तय गर्ने पनि सभापति लामिछानेले बताए । बैठक ३ दिनसम्म चल्नेछ । बैठकमा पार्टीका संघीय सांसद, प्रदेश सभापतिसहितको उपस्थिति रहेको रास्वपाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !