१२ श्रावण २०८१, शनिबार

गणतन्त्रविरुद्ध भ्रम सिर्जना गर्ने सफल हुन सक्दैन : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  27 November, 2023 5:16 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास सफल हुन नसक्ने बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित छैटौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाविरुद्ध केही कतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सिर्जना गर्ने, अराजकता सृष्टि गर्ने कोसिस भएको उल्लेख गर्दै त्यस्ता प्रयास अगाडि बढ्नै नसक्ने बताएका हुन् ।

उनले इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्ने दाबी गर्दै पछाडि फर्किनै नसक्ने बताए । प्रधानमन्त्री प्रचण्डले यो परिवर्तनको बाहक राजनीतिक दल, शक्ति र व्यक्ति रहुन्जेल अग्रगमनको चक्कालाई कसैले पनि पछाडि फर्काउन नसक्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन र सफलतालाई सरकारले आफ्नो सफलताका रूपमा लिएको पनि बताए । उनले राष्ट्र निर्माणका लागि दूरगामी र रचनात्मक प्रभाव पार्ने तथा भावी पुस्ताका लागि गर्विलो इतिहासका रूपमा सामाजिक सुरक्षा कोषलाई सरकारले लिएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा लाग्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले सामजिक सुरक्षा कोष कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गराउने काममा सक्दो योगदान पुर्‍याउन स्थानीय तहलाई पनि विशेष आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले सरकारले सामाजिक सुरक्षा कोषलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुरुप अघि बढाउने कुरामा सरकारले कुनै कमी हुन नदिने बताए ।



प्रतिक्रिया दिनुहोस !