१२ श्रावण २०८१, शनिबार

महिलाहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

प्रकाशित मिति :  27 November, 2023 6:00 pm


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले महिलाहरूलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

सोमबार ललितपुरमा आयोजित ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तरक्रियामा बोल्दै उनले महिलाहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

उनले महिला–महिलाहरूको बिचमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले महिलाहरूलाई निर्वाचनमा लड्नका लागि बजेट नै छुट्याउनुपर्ने पनि बताइन् ।

उपसभामुख रानाले महिला सांसदहरू धेरै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका बताउँदै समानुपातिक सांसदहरूलाई होच्याउने काम भएको बताइन् । उनले महिलाहरूलाई राजनीतिको निर्णायक ठाउँमा पुर्‍याउनुपर्ने पनि बताइन् ।

उपसभामुख रानाले महिलाहरूलाई विश्वविद्यालय तहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउनुपर्ने बताइन् । बालिकाहरूले बिचमै विद्यालय छोड्ने दर बढिरहेको भन्दै उनले यसप्रति पनि ध्यान पुर्‍याउनुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !