१२ श्रावण २०८१, शनिबार

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

प्रकाशित मिति :  27 November, 2023 6:39 pm


काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिएका छन् ।

अस्थायी आवास निर्माणका लागि सरकारले दिने पहिलो किस्ताबापतको रकम प्रभावित नागरिकको हातसम्म पुगिसकेको बताउँदै उपप्रधानमन्त्री खड्काले भूकम्पका कारण भत्किएका संरचना पन्छाउने र तत्कालै अस्थायी आवास निर्माण अहिलेको आवश्यकता रहेकाले सोहीअनुसार काममा खटिन निर्देशन दिए ।

सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारका मन्त्री र सुरक्षा अंगका प्रदेश प्रमुखसँगको छलफलमा उपप्रधानमन्त्री खड्काले भूकम्पपछिको पुननिर्माणपछिको कामका लागि स्रोतको कमी नरहेको बताए । उनले भूकम्पले पुर्‍याएको क्षतिको तथ्याङ्क आउने बित्तिकै पुननिर्माणको काम सुरु गरिने उल्लेख गरे ।

उनले भूकम्पमा क्षति भएका विद्यालय, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संरचनाको अस्थायी र स्थायी संरचना सङ्घ सरकारले निर्माण गर्ने गरेर तयारी भइरहेको जानकारी दिए । उनले भने, “विद्यालयको अस्थायी संरचना निर्माणका लागि आवश्यक बजेट बुधबारको मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नेछ । अन्य सार्वजनिक संरचनाको काम पनि सँगसँगै अघि बढाउँछौँ ।”



प्रतिक्रिया दिनुहोस !