१२ श्रावण २०८१, शनिबार

स्याङ्जा चेम्बर अफ कमर्सले दोस्रो आँधिखोला महोत्सव गर्दै

प्रकाशित मिति :  29 November, 2023 11:21 am


काठमाडौँ । स्याङ्जा चेम्बर अफ कमर्सले दोस्रो आँधिखोला महोत्सव २०८० आयोजना गर्ने भएको छ ।

कमर्सले ‘कृषि, पर्यटन, उद्योग र व्यवसाय विकास हाम्रो सान, दोस्रो स्याङ्जा आँधिखोला अभियान’ भन्ने नारासहित स्याङ्जाको पुतलीबजार खेल मैदान पुस १९ देखि माघ २ गतेसम्म मेला आयोजना गर्न लागेको हो ।

स्थानीय उत्पादनको प्रवर्द्धन तथा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र स्याङ्जा चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा मेला आयोजना हुन लागेको स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिए । उनले महोत्सवले स्याङ्जाको पहिचान बनाउँदै देशकै उत्कृष्ट महोत्सवका रूपमा स्थापित हुने अपेक्षा रहेको जनाए ।

उनले स्याङ्जाको आर्थिक तथा सामाजिक उत्थान गर्न कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, संस्कृतिको जर्गेना गर्ने उद्देश्य महोत्सव आयोजना गर्न लागेको जनाए । उनका अनुसार महोत्सवमा २०० स्टल रहनेछ । महोत्सवमा तीन लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन एकै थलोबाट राउँदै गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्‍याउने रहेको छ ।

महोत्सवले कृषिजन्य घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन गर्न आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नसमेत सहयोग पुग्ने अपेक्षा आयोजकको छ । त्यस्तै मेलाले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्नेछ । मेलामा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !