१२ श्रावण २०८१, शनिबार

कोप–२८ मा सहभागी हुन आज दुबई जाँदै प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  29 November, 2023 12:03 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८ औँ सम्मेलन (कोप २८) मा भाग लिन आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दैछन्।

प्रधानमन्त्री आज राति ९ बजे नेपाल एयरलाइन्सको विमानबाट प्रस्थान गर्नेछन्। कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ। प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ तारिखसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिनेछन्।

प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको ५२ औँ सङ्घीय दिवस समारोह र‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’समारोहमा पनि सहभागी हुने कार्यक्रम छ।

उनले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवर्द्धन गर्न ‘हिमालको आह्वान: जलवायु सङ्कटबाट हामीलाई कसले बचाउछ ?’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्दै हुनेछ।



प्रतिक्रिया दिनुहोस !