१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

प्रकाशित मिति :  1 December, 2023 5:06 pm


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका प्रकाशन गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्तादेखि मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको हो । सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १९ पदका लागि निर्वाचनको मिति तोकेको छ ।

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ भने पदावधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रियसभामा रिक्त हुने २० सदस्यमध्ये १९ जनाको निर्वाचन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

आयोगले माघ ११ गते हुने निर्वाचनकालागि आयोगले मंसिर २२ गते दल दर्ताका लागि सूचना प्रकाशन गर्ने र मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम तय गरेको छ ।

त्यस्तै, राजनीतिक दल दर्ता भए पश्चात पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाउने जनाएको छ । पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

पुस २० गतेदेखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ । माघ ११ गते भने विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ ।



प्रतिक्रिया दिनुहोस !