२२ बैशाख २०८१, शनिबार

आजियटाले नेपालमा लगानी उचित छैन भन्ने प्रचार गर्‍यो : स्वर्णिम वाग्ले

प्रकाशित मिति :  6 December, 2023 4:11 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा।स्वर्णिम वाग्लेले नेपालमा लगानीको वातावरण छैन भनेर प्रचार गर्ने आजियटा ग्रुपका सिईओलाई अर्थसमितिले पत्र काट्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद वाग्लले यस्तो माग गरेका हुन् । अर्थ समितिमा आएर आजियटा ग्रुपका सिईओले नेपालको लगानीको विषयमा जानकारी दिनुपर्ने वाग्लेले उल्लेख गरे ।

आजियटाका सिईओले नेपालमा लगानीको वातावरण नभएको र नेपालबाट बाहिरिनु शेयर लगानीकर्ताको हित भएको भनेकाले नेपालमा लगानीको वातावरण खराब हुने पुष्टि गरेको बताए ।

सांसद वाग्लले २०८१ वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा एनसेल शेयर बिक्री गरेर बाहिरिनु नेपाल लगानीको लागि उपयुक्त नभएको भन्ने सन्देस जाने धारणा राखे ।

उनले वैदेशिक लगानीकर्ता ल्याउन तामझामका साथ कार्यक्रम गर्ने र नेपालमा भित्रिएको सबैभन्दा ठूलो प्रत्यक्ष लगानीकर्ताहरुमध्ये एक एनसेल नेपाललाई धारे हात लगाएर बाहिरिनुले गम्भिर प्रश्नहरू उठाएको बताए ।

“एनसेलको बिक्रीले उजागर गरेका आर्थिक कुशासन लगानी विकर्षण बारे बृहत् नीतिगत समीक्षा आवश्यक भएको देखिन्छ । आजियटा कम्पनीको सीईओलाई नै अर्थ समितिले पत्र काट्नुपर्छ । त्यसको लागि कस्तो सहयोग चाहिन्छ हामी तयार छौँ,”उनले भने ।



प्रतिक्रिया दिनुहोस !