१७ बैशाख २०८१, सोमबार

दूधको भुक्तानी तत्काल उपलब्ध गराउन अखिल नेपाल किसान महासंघको माग

प्रकाशित मिति :  7 December, 2023 11:55 am


काठमाडौँ । किसानले उत्पादन र विक्रि गरेको दुधको करिब ६ अर्ब रुपैयाँ बराबर रकमको भुक्तानी नभएको भन्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले आज एक विज्ञप्ती सार्वजनिक गर्दै विगत ६ महिनादेखि किसानहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकममध्ये करिब आधा रकम सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को रहेको र विगत केही समयदेखि डिडिसीकै उच्चस्तरका कर्मचारीको संलग्नतामा विदेशी धुलो दुध ल्याउने कार्य भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

“नेपालका दुग्ध उत्पादक तथा पशुपालक किसानहरूले देशको कृषि उत्पादनमा अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा करिब ९ प्रतिशत योगदान गर्दछन् ।”, विज्ञप्तीमा भनिएको छ, “३० लाख किसान परिवारहरू सहभागी रहेको र राष्ट्रिय अर्थतन्त्रमा करिव ६ प्रतिशत योगदान गर्ने दुग्ध क्षेत्र सहरका पैसा गाउँ पुऱ्याउने, ग्रामीण क्षेत्रमा रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने, युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने र ग्रामीण जनसमुदायको खाद्य तथा पोषण सुरक्षामा योगदान गर्ने उत्पादनको एक सशक्त क्षेत्र हो ।’’

महासंघले डिडिसी र विभिन्न निजी क्षेत्रका दुध कम्पनीहरूबाट किसानहरूको अरबौं रुपैयाँ भुक्तानी नगर्ने लज्जास्पद कार्यको घोर निन्दा तथा भर्त्सना गर्दै किसानहरूलाई उनीहरूले प्राप्त गर्नुपर्ने रकम अबिलम्ब भुक्तानी गर्न र गराउन जोडदार माग गरेको छ ।

महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले देशमा भइरहेको धुलो दुधको निर्वाध आयात तथा सीमा क्षेत्रमा भइरहेको कम गुणस्तरको र नक्कली दुधको तस्करी रोक्न, किसानहरूको बक्यौता रकम भुक्तानी दिलाउन, दुग्ध किसानहरूको हित हुने गरी अनुदान, सहुलियत व्याजदरको कृषि ऋण र अन्य सरकारी सेवा -सुविधा प्रदान गरी स्वदेशी दुधको उत्पादन तथा खपत वृद्धि गर्न आजकाे आवश्यकता रहेकाे बताए ।



प्रतिक्रिया दिनुहोस !