१६ बैशाख २०८१, आइतबार

देशको संकट समाधानका लागि अस्थायी संयुक्त सरकार बनाऔँ : अध्यक्ष वैद्य

प्रकाशित मिति :  7 December, 2023 5:53 pm


काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले वर्तमान राज्यसत्ता र व्यवस्था असक्षम भएको भन्दै अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताएका छन् ।

बिहीबार पार्टीको तात्कालिक राजनीतिक कार्यनीति विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष वैद्यले वर्तमान राज्यसत्ता, व्यवस्था र तिनका पक्षधर राजनीतिक दलहरू असक्षम र संकटग्रस्त बन्दै गएको बताए । उनले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताए ।

उनले सरकारले संघर्षका उपलब्धिहरूको रक्षासहित, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आधारित तत्कालीक कार्यक्रमको कार्यान्वयन गर्ने बताए ।

त्यस्तै, वर्तमान संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तर्वस्तुमा आधारित जनसंविधान निर्माणका लागि आधार तयार पार्ने उनले बताए ।

अध्यक्ष वैद्यले अस्थायी संयुक्त सरकारको कार्यनीतिले जनताका तत्कालीक हक, हित तथा अधिकारको प्राप्ति र संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्ने स्पष्ट पारे । उनले अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन र क्रान्तिकारी संयुक्त मोर्चा पनि आवश्यक भएको उल्लेख गरे ।

सरकार ढाल्ने, बनाउने र पुनः ढाल्ने संसदीय निर्वाचनको निरन्तरता पनि जनता थेग्ने स्थितिमा नरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !