२९ मंसिर २०८२, सोमबार

एनसेलको सेयर बिक्री भएको होइन, नाटक मात्रै हो : सांसद पाण्डे

प्रकाशित मिति :  8 December, 2023 6:11 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले एनसेलको सेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले एनसेलको शेयर खरिद बिक्री नभएको टिप्पणी गरेका हुन्। उनले सेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताए।

पहिल्यै सम्बन्धित व्यक्तिको श्रीमतिको नाममा २० प्रतिशत शेयर रहेको उल्लेख गर्दै उनले अर्को कम्पनी खडा गरेर श्रीमानको नाममा ८० प्रतिशत शेयर लिनु नै नाटक भएको उनको भनाइ छ ।

“यो असाध्यै ठूला भयावह खर्बको चिजलाई अर्बमा बेच्ने स्थिति देखियो। एनसेलको सन्दर्भमा हाम्रो समितिको तर्फबाट गर्नुपर्ने भूमिकामा कमी आउन दिनु हुँदैन। सरकारले पैसा लिएर जाने कुराहरूलाई रोक्ने आदि खालका निर्देशन दिएको छ भन्ने केही पत्रपत्रिकाले लेखेको छ,” उनले भने, “यो कुरामा कडाइका साथ नेपालका विद्यमान ऐन, कानून पूर्णरूपले फलो गर्नेगरी हामीले ध्यान दिनुपर्ने हुन्छ। यो बिक्री गरेको हो जस्तो लाग्दैन मलाई यो बिक्रीको नाटक मात्रै हो। बिक्रिको नाटक हो। त्यसो हुनाले पहिल्यै श्रीमतिको नाममा २० प्रतिशत थियो अब अर्को कम्पनी खडा गरेर श्रीमानको नाममा ८० प्रतिशत। यस्ता खालका कामहरू भएका छन् यो नाटक हो। यसलाई गम्भिर रुपले ध्यान पु¥याउनुपर्ने हुन्छ।”

सांसद पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुशासन कायम गर्न नसकेको बताए।

उनले कर्मचारी परिचालनको सम्बन्धमा मन्त्रालयबाट नकारात्मक काम भइरहेको बताउँदै उनले स्थानीय तहहरुमा प्रशासकिय प्रमुखहरुलाई स्वार्थ अनुकुल सरुवा गर्ने गरिएको भन्दै यसले गर्दा राजनीतिक प्रणालीप्रति नै प्रश्न उठ्न थालेको बताए।



प्रतिक्रिया दिनुहोस !