५ जेष्ठ २०८१, शनिबार

जनताले देशको बागडोर एमालेको हातमा सुम्पिन चाहेका छन्: विष्णु पौडेल

प्रकाशित मिति :  20 December, 2023 12:19 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपाली जनताले मुलुकको शासनको बागडोर एमालेलाई सुम्पिन चाहेको बताएका छन् ।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा जनताले भोगेका सबै समस्याको समाधान गर्न पनि मुलुकको शासन सत्ता एमालेले लिनुपर्ने र त्यसको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुपर्ने आम जनताको चाहना रहेको आफूहरूले पाएको उपाध्यक्ष पौडेलको दाबी थियो ।

उनले आम जनताले आफूहरूको यात्राको क्रममा एमालेप्रति असाधारण आशा, भरोसा र विश्वास गरेको जिकिर गर्दै त्यसलाई महत्त्वपूर्ण पुँजीको रूपमा ग्रहण गरेर अघि बढ्ने बताए ।

देशलाई सुख, शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमालेको विकल्प नभएको पनि यात्राको क्रममा अनुभूति भएको उपाध्यक्ष पौडेलको भनाई थियो । उनले पार्टी अध्यक्ष ओलीप्रति देशभरका सबै उमेर समूहका मानिसहरूको असाधारण आकर्षण रहेको पनि बताए ।

उपाध्यक्ष पौडेलले सङ्कल्प यात्राको क्रममा पाएका सबै सुझावहरूलाई सूचिकृत गरेर एमालेले आगामी दिनमा अघि बढ्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !