आर्थिक रुपान्तरणका लागि डिजिटल रुपान्तरण अपरिहार्य छ: मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको आर्थिक रुपान्तरणका लागि डिजिटल रुपान्तरण र डिजिटल इकोसिष्टम निर्माण आवश्यक रहेको बताएकी छन् । त्यसका लागि सरकार आवश्यक नीतिगत, कानुनी र संरचनागत व्यवस्थ गर्नतिर लागेको बताइन् ।
लिभिङ विथ आइसिटीले आयोजना गरे आइसिटी अवार्डको आठौं सस्करणलाई सबोधन गर्दै उनले सरकारले सूचना तथा सञ्चार प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा लिएको स्पष्ट पारिन् ।
जनताका दैनिक आधारभूत आवश्यकतालाई सहज र सरल बनाउनेदेखि संसारसँग प्रतिष्पर्धा गरेर डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि महत्वपूर्ण आधार हो भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, “हामीले अन्य उद्योगधन्दा खोल्यौं भने आजको आजै विश्वसँग प्रतिष्पर्धा गर्न सक्दैनौं तर सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा निर्यात गरेर हामीले विश्वसँग प्रतिष्पर्धा गर्न सक्छौं भन्ने विगत केही वर्षयताका अनुभवबाट पुष्टि भइसकेको छ । यसलाई अझै बढाउँदै सूचना प्रविधिलाई डिजिटल अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधारको रूपमा स्थापित गर्न अब सामान्य सुधारले होइन यस क्षेत्रमा डिपार्चर नै गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेको छ ।”
यही वर्ष पहिलोपटक साइबर सुरक्षा नीति २०८० पारित गरेर त्यसलाई कार्यान्वयन गर्न साइबर कानुन निर्माण र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पहल अघि बढाएको उनले जानकारी दिइन् । सूचना प्रविधि, दूरसञ्चार, सामाजिक सञ्जालको व्यवस्थापनलगायतका अन्य कानुन पनि जतिसक्दो चाँडो निर्माण गरेर आफूहरू सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा डिपार्चर गर्ने पक्षमा रहेको मन्त्री शर्माले बताइन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल पूर्वाधारको क्षेत्रमा गम्भीरताका साथ काम अघि बढाएको जानकारी दिदै मन्त्री शर्माले यसरी नै यसका अन्य पहलहरू कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारलाई पनि सम्बन्धित निकायले अघि बढाउन सके डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनले गति लिने छ विश्वास व्यक्त गरिन् ।
युवालाई देशिभत्रै बस्न र रोजगारी दिन सहज हुने गरी सातै प्रदेशमा डिजिटल स्किलका कार्यक्रम पनि राख्ने तयारी गरिएको मन्त्री शर्माले जानकारी दिइन्








