दुध किसानको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौँ । संसदीय समितिले दुध किसानहरूको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ।
शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले दुध किसानहरूको वक्यौता रकम तत्काल भुक्तानी गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।
पीडामा रहेका दुध किसानहरूको भुक्तानी तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति डा.आरजु राणाले जानकारी दिइन्। बैठकले कृषि क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सचेत गराएको छ।
हाल बजेटको ३ प्रतिशत मात्रै लगानी कृषि क्षेत्रमा राज्यले गरेको पाइएकाले आगामी आर्थिक वर्षमा कम्तिमा ५ प्रतिशत बजेट पुर्याउन सरकारको ध्यानाकर्षण गराइएको समिति सभापति राणाले बताइन्।
कृषि क्षेत्र मुलुकको सबैभन्दा बढी प्रतिफल दिने क्षेत्र भएकाले यस क्षेत्रमा लगानी बढाउने कुरामा सरकारले कम्जुस्याइँ गर्न नहुने समितिको निष्कर्ष थियो।








