१८ बैशाख २०८१, मंगलबार

नेपालमा उत्पादन हुने थुप्रै च्याउको अनुसन्धान गर्न बाँकी छ: सभामुख घिमिरे

प्रकाशित मिति :  31 December, 2023 5:36 pm


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा उत्पादन हुने थुप्रै च्याउको अनुसन्धान गर्न बाँकी रहेको बताएका छन् ।

आइतबार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको तराईदेखि पहाडसम्म उत्पादन हुने थुप्रै च्याउका परजातिको अनुसन्धान हुन बाँकी रहेको र सरकारले पनि त्यस तर्फ ध्यान दिनुपर्ने बताएका हुन् । उनले विदेशी च्याउलाई विस्थापित गरेर स्वेदशी च्याउको बजारीकरण गर्न जरुरी रहेको बताए ।

“हामी दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातिर गइरहेको बेलामा यो च्याउ उत्पादक संघ स्थापना गरी नेपालमा पाइने च्याउहरूलाई प्रमोसन गर्ने, च्याउहरूको महत्वलाई जनताको बिचमा पु¥याउने र उत्पादन गर्ने काममा निरन्तर लाग्ने, खट्ने काममा लाग्ने र बिक्री वितरण गर्ने काममा महत्वपूर्ण उपलब्धि प्राप्त भएर आइरहेको छ। नेपाल वास्तवमा जडिबुटीयुक्त मुलुक, यहाँ उत्पादन हुने च्याउहरूको अझै पनि धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छ”, उनले भने ।

उनले भारतबाट आयात गर्दै आएको च्याउमा पछिल्लो समय आत्मनिर्भर हुँदै जाँदा देशको अर्थतन्त्रलाई समेत टेवा पुगेको बताएका छन् । उनले विदेशी च्याउलाई विस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न आजको आवश्यकता रहेको पनि बताएका छन् । गत १० वर्षयता सरकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन नसकेको उनको भनाइ थियो ।

च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा “च्याउ किसानहरूको जागरुता, व्यवसायिक उत्पादनद्धारा आत्मनिर्भरता” भन्ने नाराका साथ च्याउ मेला गरिएको थियो । मेलामा ३० वटा स्टलहरू र च्याउसँग सम्बन्धी विभिन्न विषयहरूमा प्रर्दशनी हुनुका साथै च्याउनका विभिन्न परिकारहरूको उपल्बधता तथा प्रर्दशनी गरिएको थियो ।

मेलामा गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवाहरिक प्रयोगात्मक प्रर्दशनी देखि विभिन्न स्टलहरूमा भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको प्रर्दशनी गरिएको थियो ।

नेपालमा प्राचिन समयदेखि नै च्याउको उपभोग गरिदैँ आएको पाइन्छ । व्यवसायीक रूपमा च्याउ उत्पादन नगरिएको अवस्थामा पनि वन जंगलमा उपल्बध भएको च्याउ मानिसहरूले उपभोग गर्ने गरेको पाइन्छ । सर्वप्रथम कन्ये च्याउको उत्पादन र अनुसन्धान पछि आर्थिक वर्ष २०३०\०३१ सालमा गोब्रे च्याउको खेती प्रविधि सम्बन्धी अनुसन्धान भएको संघले जनाएको छ ।

संघका अनुसार राष्ट्रिय कृषि अनुसन्धान परिषद् अन्तर्गत बाली रोग, विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधि सम्बन्धी अध्ययन सफल भएपछि २०३७ सालबाट देशका विभिन्न स्थानबाट किसानहरूलाई च्याउ खेती, प्रविधि सम्बन्धी तालिम दिइ यसको विस्तार गर्ने कार्य भएको हो ।

आर्थिक वर्ष २०३४\३५ सालबाट नै काठमाडौँका बलम्बु, चापागाउँ, हुँदै नेपालका विभिन्न स्थानमा निरन्तर रूपमा च्याउखेती गरिदैँ आइएको छ । वर्तमान समयमा च्याउ उपभोग गर्ने मानिसहरूको संख्या वृद्धि हुँदै गएकाले यसको व्यवसायिक उत्पादन गर्ने किसानहरूको संख्या पनि दिनानुदिन वृद्धि हुँदै गएका संघका अध्यक्ष कार्कीले बताए । हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरूमा व्यवसायीक रूपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेको संघको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !