१८ बैशाख २०८१, मंगलबार

समुदायको पहिचानमा नै देशको समृद्धि निर्भर हुन्छ: प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  31 December, 2023 5:54 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता र समृद्धि निर्भर हुने बताएका छन् ।

आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने बताएका हुन् ।

उनले नेपालका मौलिक चाडपर्वले नेपालीका बिचमा सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बताउने बताए । उनले देशको विशेषता र मौलिकताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गगरे

प्रधानमन्त्री प्रचण्डले ल्होसार लगायत सबै सांस्कृतिक पर्वलाई राष्ट्रिय संस्कृतिको रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले विभिन्न जाति एवम् समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु राष्ट्रिय कार्यभार भएको बताए । उनले नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणको प्रमुख सभ्यताहरूको संगमस्थल भएको उल्लेख गरे । उनले सबै जाति, जनजातिको आ–आफ्नो परम्परा, रीतिरिवाज र संस्कृति रहेको र सबै संस्कृतिको समन्वयता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले टुँडिखेलमा तमु ल्होसार मनाएकालाई साँझमा कुनै अवरोध नगर्न सुरक्षा निकायलाई निर्देशन समेत गरे । उनले कार्यक्रमलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !