३ जेष्ठ २०८३, आइतबार

जापानमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २० पुग्यो

प्रकाशित मिति :  2 January, 2024 11:07 am


काठमाडौँ । जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। मध्य जापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो।

राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताए।

सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्पहरू गएका थिए।

जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ। सोमवारदेखि जापानमा १ सय ५५ पराकम्प गएका छन्।



प्रतिक्रिया दिनुहोस !