२३ बैशाख २०८१, आइतबार

कृषिमन्त्री भुसालले गरे दुग्ध वितरण आयोजनाको छड्के अनुगमन

प्रकाशित मिति :  3 January, 2024 11:30 am


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मंगलबार बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन् । लामो समय देखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला मन्त्री भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका हुन् ।

मन्त्री भुसाल, मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलसहितको अनुगमनमा यो आयोजनाका २ सय ५१ कर्मचारी मध्ये ८३ जना अनुपस्थित रहेको पाइएको थियो ।

केही महिना अघि खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिएपनि अझै नष्ट नगरेको पाइएकाे मन्त्रालयले जनाएकाे छ ।

आयोजना भद्रगोल अवस्थामा सञ्चालन रहेको देखेपछि मन्त्री भुसालले आयोजा प्रमुख गणेश कुमार यादवलाई तत्काल सुधारका काम गर्न निर्देशन दिएका छन् । आयोजनामा देखिएका वेथितिलाई अनुगमन टोलीले टिर्पोट गरी ल्याएको छ । आवश्यक अध्ययन पश्चात आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ ।

केही दिन अगाडी किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई मन्त्री भुसालले कटौती गराएपनि त्यसको कार्यान्वयन नभएको पाइएको छ ।

अनुगमनका क्रममा देखिएका समस्या समाधानमा आफू सक्रिय रहेको र संस्थानको सुधारका लागि आवश्यक निर्णय गर्ने मन्त्री भुसालले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !