२० बैशाख २०८१, बिहिबार

इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न सरकार सकारात्मक छ: प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  3 January, 2024 2:50 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने मागमा सरकार सकारात्मक रहेको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको १६औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गाह्रो काम नभएको बताएका हुन् ।

“मैले जानकारी पाएअनुसार नेपाल इन्जिनियरर्स एशोसिएशनले इन्जिनियरहरूको क्षमता अभिवृद्धि, पेशागत विकास र उन्नयनका निम्ति विगत लामो समयदेखि इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्ने विषयमा जोड दिँदै आएको छ । तपाईहरुको यो चासो र मागलाई मैले सकारात्मक रुपमा लिएको छु । र, अहिले भर्खरै माननीय मन्त्रीज्यु र मेरो थोरै कुरा पनि भयो । यो गाह्रो काम हुँदै होइन,”प्रधानमन्त्री दाहालले भने ।

इन्जिनियरहरूको क्षमता अभिवृद्धि, पेशागत विकास र उन्नयनका निम्ति छुट्टै कलेजको माग राख्नु स्वभाविक रहेको प्रधाममन्त्री दाहालको भनाइ थियो । प्रधानमन्त्री दाहालले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको कामलाई प्राथमिकताका साथ अघि बढाएको समेत दोहोर्‍याए । उनले मुलुकको समृद्धिका लागि गुणस्तरीय पूर्वाधार विकासमा जोड दिनुपर्ने भएकाले पनि त्यसमा इन्जिनियरहरुको भुमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने चुनौति सामना गर्न पनि सरकारले इन्जिनियर तथा प्राविधिकहरुको समुचित परिचालनमा जोड दिन चाहेको पनि प्रधानमन्त्री दाहालले बताए ।



प्रतिक्रिया दिनुहोस !