६ जेष्ठ २०८१, आइतबार

सार्वजनिक खरिद ऐनलाई छिट्टै विकासमैत्री ऐनको रूपमा परिमार्जन गर्छौंः मन्त्री ज्वाला

प्रकाशित मिति :  6 January, 2024 4:16 pm


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन हुने बताएका छन् ।

मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न गरेकाले त्यसलाई सरकारले छिट्टै समयानुकूल हुनेगरी परिमार्जन गर्नका लागि मन्त्रिपरिषदमा पेस गरिएको पनि जानकारी दिए । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले शनिबार सानेपामा आयोजना गरेको एक कार्यक्रममा बाेल्दै उनले आगामी संसद् अधिवेशनमा त्यसलाई विधेयकमा रूपमा सरकारले पेस गर्ने समेत बताए ।

‘‘विकास, निर्माणको सवालमा सबैभन्दा मुख्य रूपमा सार्वजनिक खरिद ऐन जो धेरै वर्ष अगाडि बन्यो । समय धेरै परिवर्तन भयो । परिस्थिति परिवर्तन भयो । अहिले विज्ञान, प्रविधिको युगमा हामी छौँ । तर पुरानै अवस्थाको चाहिँ खरिद ऐन हामीले बोक्नु परिरहेको छ । त्यसैबाट हामी चल्नुपरेको छ । गाईडिङ हुनु परेको छ । त्यसले पनि समस्या उत्पन्न गरेको छ । अव हामीले छिट्टो गरौँ भनेर अब त्यो मन्त्रिपरिषद्सम्म पुगेको छ ।,’’ उनले भने, ‘‘नयाँ खरिद ऐन आउँछ । अहिलेको समसामयिक सन्दर्भहरूलाई सम्बोधन गर्नेगरी विकासमैत्री ऐनको रूपमा हामीले ल्याउँदैछौं । केही समय पछि हामी त्यो संसदमा पेस गर्छौँ । कतिपय पुराना नीतिहरूलाई पनि हामीले संशोधन गरिरहेका छौँ ।’’

विकासमैत्री ऐन मुलुकका लागि आवश्यक भएकाले पनि सरकारले सो ऐन बनाउने काममा ढिलाइ नगर्ने मन्त्री ज्वालाको भनाइ थियो । मन्त्री ज्वालाले यातायात व्यवसायीहरूको माग सम्बोधन हुनेगरी सार्वजनिक सडक सम्बन्धी कानुन र सवारी तथा यातायातसम्बन्धी कानुनलाई नयाँ रूपमा अगाडि बढाउनु पर्छ भनेर आफू प्रयासरत रहेको समेत बताए ।

मन्त्री ज्वालाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि कानुनी रूपमै धेरै विषयहरू सम्बोधन गर्नुपर्ने भएकाले सरकारले त्यसलाई प्राथमिकताका साथ अघि बढाएको दाबी समेत गरे ।



प्रतिक्रिया दिनुहोस !