१५ आश्विन २०७९, शनिबार

फरक दृश्यसहित सत्तारुढ नेकपा सचिवालय बैठक जारी

प्रकाशित मिति :  2 May, 2020 6:52 pm


काठमाडाैं, २० वैशाख । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । यसपटकको बैठकमा लामो समयपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बस्ने ठाँउ फेरीएको छ ।

यसअघि कार्यकारी अध्यक्षको जिम्मा पाएपछि अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी शर्मा ओलीसँग बैठकमा सँगै बस्ने गरेका थिए ।

आजको सचिवालयको बैठकको दृश्य जहाँ दुबै अध्यक्ष एकै ठाँउमा बसेका छन् । फोटोः प्रधानमन्त्रीको सचिवालय

तर पछिल्लो समय अध्यक्ष प्रचण्डको कुर्ची हटाईएको थियो ।  अघिल्लो बैठकमा पनि प्रचण्ड अन्य सचिवालय सदस्यहरुकै लहरमा बसेको थिए । तर, आजको बैठकमा भने प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली संगै बस्ने व्यवस्था मिलाईएको छ ।

 

बैशाख १७ गतेको सचिवालय बैठकको दृश्य जहाँ अध्यक्ष केपी शर्मा ओलीमात्रै अगाडीतिर छन् ।

बैठक सुरु भएपछि प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले बैठकबारे जानकारी गराउँदै लेखेका छन्,‘नेकपा सचिवालय बैठक – नयाँ बसाइको व्यवस्थापन साथ ।’

पार्टीभित्र विवाद चर्किरहेका बेला सचिवालयको यो दोस्रो बैठक हो र जहाँ कार्यकारी अध्यक्ष प्रचण्डको बसाईको व्यवस्था अर्का अध्यक्ष ओलीसँगै गरिएको छ ।

१७ गते बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताको सुदृढीकरण, आन्तरिक रुपमा देखिएको विवाद तथा सरकारका विषयमा थप छलफल गरेर आजका लागि बैठक बस्ने निर्णय गरेको थियो ।

पार्टीभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालपक्षबीच आफूपक्षीय सांसदहरुको हस्ताक्षर अभियान सम्म पुगेको थियो ।

बैठकले प्रधानमन्त्रीको राजीनामा तथा त्यसपछि हुन सक्ने विकसित घटनाक्रमबारे टुंगो लगाउने अपेक्षा गरिएको छ । पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीका रुपमा अगाडी बढाउन खोजिएको चर्चा चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा दल विभाजलाई सहज तुल्याउने अध्यादेश सरकारबाट आएपछि सत्तारुढ नेकपाभित्र विवाद चर्किएको छ ।



प्रतिक्रिया दिनुहोस !