५ जेष्ठ २०८१, शनिबार

सभामुख घिमिरे र आयरलयाण्डका माथिल्लो सभाका अध्यक्ष बट्टिमरबिच भेट

प्रकाशित मिति :  9 January, 2024 1:00 pm


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र आयरलयाण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबिच भेटवार्ता भएको छ ।

नेपालको पाँचदिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भेट गरेका हुन् । भेटका क्रममा सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबिच दुई देशको सम्बन्धका विस्तार र संसदमा आपसी सहयोगका बारेमा छलफल भएको सङ्घीय संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।

उनले सभामुख घिमिरेले आफू आयरल्याण्ड भ्रमण जाँदा राखेका संसदीय अभ्याका सहयोग र आयरल्याण्डमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कुराहरु उठाएको बताए । सभामुख घिमिरेले चीन र भारतको जस्तै नेपाली नागरिकलाई पनि बेलायको भिसा लिएको खण्डमा आयरल्याण्ड भ्रमण गर्न अनुमति दिनुपर्ने कुरामा जोड दिनुभएको कार्यवाहक महासचिव पाण्डेयले बताए ।

‘‘भेटमा दुई देशका संसदको आपसी सहयोग कसरी हुनसक्छ? भन्ने विषयमा महत्त्वपूर्ण छलफल भएका छन् । सभामुख आयरल्याण्ड भ्रमणमा जाँदा उठाएका विषय नेपाल र आयरल्याण्डबिचमा पाल्र्यामेण्ट्री सपोर्ट कसरी हुनसक्छ? भन्नेबारेमा छलफल भएको छ । नेपालका विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्छ भन्नेकुरामा छलफल भयो । युकेको भिसा लिएका नेपालीहरुलाई आयरल्याण्ड भिजिट गर्न दिनेकुरा उठाउनुभयो,’’ महासचिव पाण्डेले भने ।

भेटमा आयरल्याण्डको उपल्लो सदनका अध्यक्ष बट्टिमोरले नेपाल र आयरल्याण्ड दुवै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार बिहान नेपाल आएका हुन् ।



प्रतिक्रिया दिनुहोस !